राजा शासनकालमा प्रजातन्त्रपछि वीरेन्द्रलाई धेरैले मन पराउने गर्छन् । विकासको काममा राजा महेन्द्रले धेरै काम गरे पनि निरंकुश पञ्चायती शासन सुरु गरेको भन्दै महेन्द्रलाई केहीले आलोचना गर्ने गरेका छन् । तत्कालीन राजा वीरेन्द्रप्रति नेपाली जनता किन सकारात्मक थिए ? कुन–कुन कदम र निर्णयले उनी नेपाली जनताका प्रिय राजा बन्न सफल भएका थिए ? यस विषयमा संक्षिप्त जानकारी उल्लेख गरिएको छ । राजा वीरेन्द्रका केही विशेषताहरू छन् । जसमा उनको बौद्धिकता आदि विशेषत छन् ।
बौद्धिक व्यक्तित्व, शिक्षित राजा
तत्कालीन राजा वीरेन्द्रले ब्रिटेनको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको हार्वर्ड विश्वविद्यालय तथा टोकियो विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेका छन् । त्यसैगरी राजा भएपछि विदेशी मञ्चमा उनले दिएका मन्तव्यहरूको पनि उच्च प्रशंसा गरिन्थ्यो । २०३८ साल भदौ १६ गते पेरिसमा आयोजित अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा राजा वीरेन्द्रले गरेको सम्बोधन संसारमै चर्चित र प्रशंसित बनेको थियो । उनका यस्ता धेरै भाषण र विदेश भ्रमणहरु सफल भएका थिए । त्यसैले उनलाई विदेशका जुनसुकै ठाउँमा पनि उच्च सम्मान दिइने गरेको थियो ।
मितव्ययी र सादगी राजा
राजा वीरेन्द्रको दरबार हेर्ने हो भने उनको सादगीपन देखिन्छ । दरबारका पुराना सोफाहरू हटाएर महारानी ऐश्वर्यले नयाँ फर्निचर ल्याउने सुझाव दिँदा राजा वीरेन्द्रले भनेछन्, ‘जनताले दुःख गरेर तिरेको करबाट यी फर्निचर किनिएका हुन् । पुराना सोफाका कपडा फेरेर मरम्मत गरे हुन्छ, नयाँ किन्नुपर्दैन ।’ नयाँ गाडी खरिद गर्ने कुरामा पनि वीरेन्द्र यस्तै प्रतिकृया दिन्थे । यी र यस्ता समाचार जनताको कान कानसम्म पुगेका थिए ।
प्रजातन्त्र चाहने राजा
पञ्चायती शासनकालमा पनि राजा वीरेन्द्रले प्रजातन्त्रको चाहना राखेर २०३६ सालमा जनमत संग्रह घोषणा गरेका थिए । त्यसमा पनि २०४६ सालमा प्रजातन्त्र स्थापना गर्न राजा राजी भएपछि त झनै उनी प्रजातन्त्रप्रेमी भन्ने कुरा स्थापित नै भयो । भनिन्थ्यो, उनी वेलायती राजसंस्थाको मोडेलबाट प्रभावित थिए । माओवादी क्रान्तिलाई दबाउन शाही सेनाको प्रयोगलाई रोक्ने श्रेय पनि वीरेन्द्रलाई दिइन्छ । खासगरी माओवादी र तत्कालीन राजनीतिक दलका विरोधीहरुले उनको यो कदमप्रति सकारात्मक धारणा बनाएका थिए ।
खम्पा विद्रोहलाई शान्तिपूर्ण तरिकाले नि:शस्त्रीकरण
२०३० सालमा राजा वीरेन्द्रले उत्तरी हिमालय क्षेत्रमा बसोबास गर्ने खम्पा विद्रोहलाई शान्तिपूर्ण तरिकाले निःशस्त्रीकरण गर्न सफल भएका थिए । उनको राजनीतिक जीवनकालागि यो घटना सर्वाधिक महत्वपूर्ण मानिन्छ। २०४५ सालमा वीरेन्द्रले चीनबाट विमानभेदी हतियारसमेत ल्याएर नेपाली सेनालाई सुदृढ गर्न खोज्दा भारतले १५ महिना नाकाबन्दी लगाएको थियो । जसको उनले डटेर सामना गरेका थिए ।
शान्ति क्षेत्र घोषणा
नेपाललाई सदैव सुरक्षित, स्वतन्त्र, शान्त र समुन्नत बनाउने अभिप्रायले राजा वीरेन्द्रले २०३१ साल फागुन १३ गते (शुभराज्याभिषेकको भोलिपल्ट) शान्ति क्षेत्रको प्रस्ताव राखे । आफ्नो शुभराज्याभिषेकमा काठमाडौंमा उपस्थित भएका विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसमक्ष उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखेका थिए । ११६ राष्ट्रले समर्थन गरे पनि भारतले भने समर्थन गरेन । वीरेन्द्रप्रति भारतीय यो व्यवहारको पनि ‘सेम्प्याथी’ थपिदै गएको थियो ।
विकासप्रेमी छन्
बुझ्नेहरूले राजा वीरेन्द्र शाहले बाबु महेन्द्रको रफ्तारमा काम गर्न सकेनन् भने पनि आम जनताले भने वीरेन्द्र विकासप्रेमी मान्थे । पाँच विकास क्षेत्र घोषणा, सार्कको स्थापना, विभिन्न कलकारखानाको स्थापना आदिका कारण उनको विकासप्रेमी छवि स्थापित थियो ।