काठमाडौं । नेपाली जनताहरुले सामन्तवाद तथा निरंकुशताविरुद्ध वि.सं. १९८० को दशकदेखि संगठित आन्दोलन सुरु गरेका थिए । त्यो समयमा प्रत्यक्षरुपमा सामन्तवाद तथा निरंकुशताको प्रतिनिधित्व गर्ने संस्था निरंकुश जहानीया राणा शासन थियो । स्वभाविकरुपमा त्यसबेलाको आन्दोलन जहानिया शासनको विरुद्ध लक्षित थियो । सन् १९४० अर्थात् विसं. १९९७ सालमा नै काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा राणा शासनविरुद्ध ठूलो प्रदर्शन भएको थियो ।
त्यो समयमा वृटिश शासनको विरुद्धमा भारतमा स्वतन्त्रताको लागि आन्दोलन चलेको थियो । त्यो आन्दोलनको नेपालमा पनि प्रभाव परेको थियो । प्रचण्ड गोर्खा (१९८७) र नेपाल प्रजा परिषद (१९९३) जस्ता राजनीतिक संस्थाहरु राणा शासनको विरुद्धमा संगठित आन्दोलनको सुरुवात गर्ने उद्देश्यबाट खोलिएका थिए ।
राणाहरु पनि आन्दोलनको दमन गर्न सक्रिय थिए । राणा शासनको विरुद्धमा सक्रियतापूर्वक काम गरेका कारणले ४ जना युवाहरुलाई वि.सं. १९९७ सालमा निरंकुश राणा शाहीले मृत्युदण्ड दियो र उनीहरु सहिद भए । तर निरंकुश जहानिया राणा शासनको विरुद्धको आन्दोलन झन् तीव्र हुँदै गयो । २००७ सालमा राणा शासनको विरुद्धमा निर्णायक आन्दोलन भयो ।
प्रत्यक्षरुपमा नेपाली कांग्रेसको नेतृत्वमा संचालित यो आन्दोलनमा वि.सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी र नेपाल प्रजापरिषद जस्ता राजनीतिक पार्टीहरु पनि सक्रिय थिए । त्यो आन्दोलनले निरंकुश राणा शासनलाई समाप्त पा¥यो । नेपाली कांग्रेस, राजा र राणाको विचमा भारत सरकारको मध्यस्थतामा त्रिपक्षीय सम्झौता भयो । आन्दोलनका बेला भारतमा निर्वासित भएका राजा त्रिभुवनलाई नेपाल फर्काइयो र पुनःस्थापना गरियो ।
नेपाल फर्केपछि राजा त्रिभुवनले २००७ साल फाल्गुण ७ गते जनताद्वारा निर्वाचित वैधानिक सभाले तर्जुमा गरेको ‘गणतान्त्रिक संविधान’ अनुसार शासन संचालन हुने घोषणा गरे । नेपाल प्रजातान्त्रिक युगमा प्रवेश ग¥यो । प्रजातन्त्रको सुरुसँगै यसको विरुद्धमा षडयन्त्र पनि सुरु भयो ।