

मतिना पारु भन्नाले प्रणय (प्रेम) दिवस भन्ने बुझिन्छ । जब प्रणय दिवसको कुरा उठ्छ झट्ट हामी भ्यालेन्टाइन डे सम्झिहाल्छौँ । हामीमा विदेशी प्रभाव यति भइसक्यो कि उस्तै परम्पराको हाम्रो संस्कृति भुल्दै गएका छौँ भने विदेशी पर्व अँगाल्दै गइरहेका छौँ । ‘भ्यालेन्टाइन डे’ मात्र होइन ‘अप्रिल फुल’, ‘ह्यापी न्यू यर’जस्ता धेरै यस्ता पर्वहरू हामीले अँगाल्दैछौ । जुन पर्व हाम्रो नेवा संस्कृतिमा पहिले नै विद्यमान थियो । मतिना भन्नाले माया वा प्रेम हो भने पारु भन्नाले एक तिथि हो ।
यसरी मतिना पारु भन्नाले माया प्रेम गर्नेहरूको दिन वा दिवस भन्ने बुझिन्छ । नेपाल मण्डलमा योमरी पूर्णिमाको भोलिको दिन थिंल्लागा पारु (प्रतिपदा) को दिनलाई मतिना पारु भनिन्छ । योमरी पूर्णिमाको दिन “योमरी फोवनेगु” भन्ने प्रचलन नेवार समुदायमा रहि आएको छ ।
यसै दिन योमरी माग्न जाने भनेर भोलिको भेटको सन्देश दिन प्रेमिकाको घरमा जाने गरिन्थ्यो । भोलिको दिन आफ्नो मायालु/जीवन साथीलाई फूल दिई अबिर लगाई माया दर्शाउने गर्दथ्यो । तर आजकल यो पर्व करिब करिब लोप नै भइसकेको छ । यसको ठाउँमा फेब्रुअरी १४ को दिनमा माया सातासात गर्ने प्रचलन बढ्न थालेको छ ।
योमरी पुन्ही सँग सम्बन्धित थुप्रै संस्कार र संस्कृतिहरू छन्। लोकप्रिय रूपमा खानाको परिकार यःमरिको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्य सँगको सम्बन्ध बारे कुराकानी गर्दा यसको अर्को पक्ष भनेको माया पनि हो। परम्परागत समाज अहिले जस्तो माया प्रेममा विषयमा खुल्ला थिएन। यसरी बन्धनले बाँधिएको समाजमा यःमरि पुन्हिका दिन टोल टोलमा गएर ‘यःमरि फ्वनेगु’ परम्परा अनुसार यःमरि माग्दै जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमीसँग सुटुक्क कुरा गर्ने चलन थियो। यसै क्रममा यःमरि पुन्हिकै दिन भेट्न आउने कुराकानी राखेर फर्कनेहरू त्यसको भोलिपल्ट भेट्ने गर्दछन्।