काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको इसाईमैत्री अभिव्यक्तिको सर्वत्र विरोध सुरु भएको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले इसाई धर्म नमान्नेहरू राष्ट्रद्रोही हुन् भन्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।
संस्कृतिमन्त्री नेपालीहरूका आराध्यदेव श्री पशुपतिनाथको संरक्षक समितिका अध्यक्ष समेत हुन् । खुलमखुला आफूलाई इसाई धर्मको प्रचारक मान्ने व्यक्ति पशुपतिनाथको अध्यक्ष बन्न नसक्ने भन्दै उनको सर्वत्र विरोध भएको हो ।
सामाजिक सञ्जालमा उनको राजीनामा वा बर्खास्तीको माग गर्दै विरोध सुरु भएको हो । किराँतीले प्रधानमन्त्री समेत इसाई मतको अनुयायी रहेको अभिव्यक्ति दिएका थिए ।
पशुपतिमा विरोध प्रदर्शन
यसैबीच मन्त्रीको अभिव्यक्तिको विरोधमा सनातन धर्मसम्बन्धी अभियान्ताहरूले विरोध प्रदर्शन गर्न लागेका छन् । पशुपति क्षेत्र विकास कोषमा गैरधार्मिक व्यक्तिको नियुक्तिको विरोध एवम् सुदन किराँतीको अभिव्यक्तिको विरोधमा बिहीबार दिउँसो २ बजे विरोध प्रदर्शन गर्न लागिएको हो ।