कीर्तिपुर भेगका नेवार समुदायहरूमा मंसिर महिनाको थिंलाथ्व अष्टमी नवमी र दशमी गरी तीन दिन सम्म स्थानिय जात्रा मनाउने चलन पाइन्छ । नवमीको दिनमा कीर्तिपुरको पाँगामा विष्णुदेवी रथ जात्रा गरिन्छ भने त्यसको भोलिपल्ट कीर्तिपुरमा इन्द्रायणी जात्रा गर्ने प्रचलन छ । पहिलो दिनलाई ‘छोयला भूः’ भनिन्छ र घरलाई लिपपोत गरी सकेपछि दिउसो छव्यला, चिउरा, हरियो लसुन, साँदेर जाँड खाने चलन छ । भोलिपल्टको दिनलाई भूःया भनिन्छ र त्यस दिन प्राय मानिसहरूको घरघरमा तःखाः (थलथले मासु) बनाउने गर्दछन् । भूःयाको भोलिपल्ट मुख्य जात्रा हो भने आफ्नो साथीभाई आफन्तलाई जात्रामा भोज स्वरूप चिउरा, गेडागुडी, अचार, छयाला, तःखाः पुकाः ला, दही आदी राखेर खुवाउने चलन छ । यस जात्राको विशेषता भनेको यो जात्रा जाडो मौसममा हुने भएकोले यो जात्राको समयमा त्यस भेगका वासिन्दाले बनाउने तःखाः (थलथले मासु) हो जुन विभिन्न प्रकारको हुन्छ ।
परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुल्क नवमीका दिन सन्तानहरु आउने विश्वासअनुसार अगामी शनिबार बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठीयार र गाउँले बाजागाजा ल्याउँछ । त्यस यात्रा हेर्नका लागि उपत्यकाका सबै ठाउँका नेवार समुदाय बल्खु पुग्ने गर्छन् । सोही दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई स्थानमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने गर्छ ।
थलथले मासु राङ्गाको छाला सहितको मासुलाई ठूलो ठूलो चोक्टामा कुंई (चुलेसो) ले काट्ने र ट्वाना (खुट्टाको मासु), न्हेपःपो (पुच्छरको मासु), छ्याँेः (टाउकाको मासु) भएको खण्डमा अझ राम्रो मानिन्छ । काटेको मासु मध्ये छाला र मासु दुई भागमा छुट्याइन्छ । तामाको ठूलो भाँडा फोसी या जःसी मा मासुलाई चाहिने अनुसार पानी तताइन्छ र यसलाई धेरै वेर पकाउनु पर्ने भएकोले पानीको मात्रा बढी नै चाहिन्छ । पानी उम्लिनु भन्दा अगाडी एउटा मलमल कपडामा जिरा गेडा, धनिया गेडा, र तेजपातलाई पोको पारी पानीमा डुवायर राख्ने गरिन्छ । पानी उम्लेपछि छालालाई पहिले हालेर पकाउने गरिन्छ । एवं रितले आगो डन्काएर धेरै वेर पकाए पछि छाला कत्तिको पाक्यो भनेर आधा आधा घण्टामा निकालेर हेर्नु पर्दछ र छाला आधा पाकेपछि अरु मासु पनि त्यसमा हालेर पकाउने गरिन्छ । यही प्रक्रियाबाट कम्तीमा ६÷७ घण्टा जति पकाइसकेपछि तिः (झोल) र कुः (चोक्ता मासु) बीचको अनुपात मिलाउनु पर्दछ । यदि झोल कम छ भने झोल थप्न पानीलाई अगाडी नै वेस्कन उमालिराख्नु पर्दछ । झोल र मासुकोअनुपात मिलेपछि सन्या खुना (पिरो थलथले) को लागि झोल र अलि अलि मासुचाहिय जति झिक्ने गरिन्छ ।
आमा मानिने विष्णुदेवीलाई भेट्न सन्तानहरुबीचमा उछिन पाछिन भएको किंवदन्तीअनुसार रथयात्राको क्रम चल्ने स्थानीय देवलाल श्रेष्ठ बताउँछन् । भेटघाट सुरु भएको वर्ष क्रमअनुसार जेठी छोरी मानिने मच्छेगाउँकी देवीको रथ पुग्नुपर्नेमा आमा भेट्नका लागि कान्छी छोरीअर्थात् सतुङ्गलकी देवी बिना श्रृङ्गार बल्खु पुगेकी थिइन् र मच्छेगाउँकी देवी भने श्रृङ्गारसहित केहीपछि पुग्दा बहिनी पहिले नै पुगिसकेको देखेपछि आमातर्फ पीठ फर्काएर बाहिरै बसिन् ।
किंवदन्ती
प्राचीनकालमा स्वयम्भू महाचैत्यसामुन्ने एकजना ऋषिले यज्ञ गरिरहेको समय त्यहाँका सबै परेवा नैकाप वैष्णवी पीठसँगै रहेको रुखमा बस्न गएछन् । एकैचोटी यति धेरै परेवा रुखमा बस्न आएको देखेर एकजना व्याधाले गुलेलीले हिर्काएर एउटालाई घाइते बनाइदियो । परेवाले आफ्नो ज्यान बचाउने प्रयास गर्दै उडेर जाँदा पीठसँगै रहेको यज्ञ कुण्डको होममा पर्न गएछ । जसले गर्दा परेवाको ज्यान गयो ।
धर्मका निम्ति गरेको यज्ञकुण्डमा निर्दोष परेवाको प्राण गएकोले ऋषिले ‘बखुं मन्त’ अर्थात् ‘परेवा म¥यो’ भन्दै प्रायश्चित गर्दै प्रत्येक वर्ष मंसिर शुक्ल दशमीका दिन जात्रा मनाउने परम्परा बसालेको कथन छ । मंसिर शुक्ल अष्टमीदेखि दशमीसम्म मनाइने जात्रालाई ‘बखुं मन्त’ भन्ने शब्दलाई लिएर पछि ‘बखुंमद’ जात्रा हुन गएको किम्बन्ती छ । मंसिर शुक्ल अष्टमीलाई ‘बखुंमद’ अष्टमी पनि भन्ने गरिन्छ । सात गाउँमा गरिने जात्रा भएकाले यसलाई ‘सात गाउँको जात्रा’ पनि भनिन्छ ।