मालिकको किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर वा कमारोलाई दास भनिन्छ। दासप्रथामा हुनेखाने वर्गले नहुने वर्गमाथि विवशता (मजवुरी)को फाइदा उठाएर शोषण गर्ने गर्दथे । यसको उन्मुलन गर्ने धेरै प्रयास भएपनि चन्द्र शमशेरले वि.स. १९८१ मा दास प्रथाको अन्त्य गर्ने घोषणा गरेका थिए । उक्त घोषणा विस १९८१ देखि कार्यान्वयन भई वि।सं। १९८२ वैशाख १ मा दास प्रथाको अन्त्य भएको घोषणा गरिएको थियो । दास दासीको व्यवस्थापन गर्न तत्कालीन समयमा रू ३६ लाख ७० हजार पशुपतिको गुठीबाट लिइएको थियो । दासदासीका मालिकलाई राज्यले रकम भुक्तानी गरी उनीहरूलाई मुक्त गरिदिएको थियो । त्यसबेला भागेका र आफैँ मुक्त भएका करिब ५७ हजार आठ सय ९० जनाको उद्धार भएको थियो ।
यी सबै परिवेशको प्रभाव नेपालमा पनि पर्नु स्वाभाविकै थियो र यसै क्रममा सन् १९२४ मा राणा प्रधानमन्त्री चन्द्र शम्शेरले काठमाडौँको टुँडिखेलमा राजा त्रिभुवन समेत सरिक भएको एक कार्यक्रममा दासप्रथाका नकारात्मक पक्षलाई सम्बोधन गर्दै यसको उन्मूलनका लागि जनमत सिर्जना गर्ने प्रयास गरे । यसको लगत्तै सन् १९२५ मा उनले नै दासदासीलाई मुक्त गर्न नियम बनाए । त्यतिबेला नेपालमा ५९ हजार आठ सय ७३ जना दासदासी रहेको तथ्याङ्क पनि सार्वजनिक गरियो जसमध्ये ५१ हजार सात सय ८२ जना दासदासीलाई उनीहरूका मालिकलाई क्षतिपूर्ति तिरेर मुक्त गराइयो । यसका लागि पशुपतिनाथको गुठीबाट सरकारले ३६ लाख ७० हजार रुपियाँ झिकेको थियो र पशुपतिनाथको मन्दिरबाट रकम लिई मुक्त वा अमलेख (स्वतन्त्र) गरिएका हुनाले यी मुक्त दासदासीलाई
शिवभक्त पनि भनिन थालियो ।
यसरी मुक्त गरिएका दासदासी कोही स्वेच्छाले पुरानै मालिक कहाँ बस्न चाहेमा स्वतन्त्र भएर काम गर्ने गरी त्यहीँ बस्न इजाजत पनि दिइएको थियो । तत्कालीन सरकारले उनीहरूको समुचित आवासको व्यवस्थापनका लागि काठमाडौँ नजिकैको भिखनाठोरी नामक स्थानको नाम परिवर्तन गरी अमलेखगञ्जमा उनीहरूको बसोवास व्यवस्थित ग¥यो । यसप्रकार विभिन्न कालखण्डबाट गुज्रिँदै नेपाल औपचारिक रूपमा दासप्रथा उन्मूलन भएको मुलुकका रूपमा पहिचान कायम गर्न सफल भयो ।