काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी उन्नाइस वर्षमुनि (यु–१९)को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।
दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा आज भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
आजको जितसँगै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । भारतले अफगानिस्तानलाई सात विकेटले हराएको थियो भने पाकिस्तानसँग भने आठ विकेटले पराजित भएको थियो । आजको खेलमा नेपालले भारतलाई जितका लागि ५३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा भारतले सात दशमलव एक ओभरमा कुनैपनि विकेट नगुमाई पूरा ग¥यो । भारतका जितमा आर्सिन कुलकर्नीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ३० बल खेल्दै पाँच छक्का र एक चौका प्रहार गरे । उसका लागि आदर्श सिंहले १३ रन बनाए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपाल २२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५२ रनमा समेटिएको थियो । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खराब ब्याटिङ गरेको नेपालका लागि हेमन्त धामीले सर्वाधिक आठ रन जोडे । त्यस्तै दीपक बोहोराले सात, दीपेश कँडेलले चार, आकाश चन्दले अविजित चार तथा सुवास भण्डारी दुई रन बनाए । नेपाललाई सस्तैमा समेट्नेक्रममा भारतका राज लिमबानी एक्लैले सात विकेट लिए । त्यस्तै आरध्य शुक्लाले दुई विकेट लिँदा अरसिन कुलकर्नीले एक विकेट लिए ।