अहिले आधुनिक घर सजावटको विधिका कारण परम्परागत शैलीमा घर बनाउने चलन दुर्लभ भइसकेको छ । दुई पाखे पाली र झिँगटीको छाना भित्र हुने हरेक गतिविधि नियाल्न अहिले काठमाडौं उपत्यकामा त सम्भव नै छैन । उपत्यका बाहिर समेत यस्तो संरचनाहरु लोपोन्मुख अवस्थामा छन् ।
एउटा सानो पाली र अर्काे धुरी ढाक्ने मूल पाली को संरचनामा झण्डै दर्जन झ्याल भएको घर देख्न अहिले मुस्किल छ । मल्लकालीन संरचनाको एउटा जीर्ण चिनोको रूपमा ललितपुर लगायत केही दरबार क्षेत्रका संरचनाहरु देख्न सकिन्छ । तर ती संरचनाहरुमा पनि आधुनिकताको झल्को पाउन थालिसकिएको छ ।
झण्डै एक शताब्दी अघि नेपालको अध्ययनका लागि आएका विभिन्न विदेशी विद्वानहरूले नेपालको तत्कालीन परम्परागत शैली देखेर त्यसैको आधारमा यहाँको पुरानो वास्तुकला र घरको सजावट शैलीको बारेमा लेखेका थिए ।
नेवा: घरको हरेक तल्लाको अर्थ
१) छेलि- छेलि अथवा छ्यलि शब्दको पूर्वरूप “छेँदि” हो। “छेँदि” शब्दबाट नै छेलि विकास भएको हो। यसमा “छेँ” भनेको घर हो र “दि” ले “अडेको” भन्ने जनाउँछ। घर अडेको तल्ला “छेँदि; अर्थात् छेलि। यो “छेँदि” गोर्खाली भाषामा आगन्तुक भएर गएको पाइन्छ, जसलाई उनीहरूले “छिँडी” भन्छन्।
२) “मातं”- यस शब्दको विकास “मां” र “तँ” बाट भएको हो। नेवा:हरूको मूल तल्ला यही हुन्थ्यो। यही तल्लामा धुकू क्वथादेखि द्यनेगु क्वथा हुने गर्थो । यो तल्ला आमा: मां जस्तो विविध भएको हुनाले, मां-आमा र तँ- तल्ला शब्दबाट “मातं” हुन गएको पाइन्छ।
३) च्वतँ- वास्तुकलाको विकासमा नेवा:हरूले मातंबाट थपेर अर्को तल्ला बनाएका कारण, माथी अर्थात् च्वय् अनि तल्ला अर्थात् तँ भएर “च्वतँ” भएको हो।
४) बैग:(बुइग:)- बै अर्थात् “बजि” शब्दको अपभ्रंश। बजि भनेको चिउरा हो, जुन नेवा:हरूको खाना परिकारमा अत्यावश्यक छ। एउटा अर्थ बजि बाट बै।
अर्को अर्थमा “बुइगु” भनेको पाक्नु। यसबाट “बुइ” नयाँ नेपालभाषामा “ग:” अनि पुरानो नेपालभाषामा “गल” भनेको “ठाउँ” हो। त्यसबाट बैग: र बुइग: शब्द आएका हुन् । बुइगल शब्द नेपालभाषाबाट जस्ताको त्यस्तै गोर्खाली भाषामा आगन्तुक भएको हो। “गल” शब्द पुरानो नेपालभाषा भए “ग:” नयाँ नेपालभाषामा हो।