लुँती अजिमाको जात्रामा काठमाडौको माथिल्लोमा पर्ने ज्याठा, त्यौड, ठहिटी, क्षेत्रपाटी, पकनाजोल, ढल्को आदि क्षेत्रका बासिन्दाको मुख्य सहभागिता रहने गर्छ । चान्द्रमास अनुसार प्रत्येक वर्ष मंसिर कृष्ण त्रयोदशी, चतुर्दशी र आमावस्याको दिन यो जात्रा मनाउने गरिन्छ । यसमा गुठीयारहरू मिलेर राँगो र बोकाको बली चढाएर शक्तिको पूजा गर्ने गर्छन् । यो जात्रामा शक्ति प्राप्त गर्न पशुबली दिने चलन छ । लुँती अजिमामा पूजा र जात्रा गरी ढल्कोको माथिल्लो भागका बासिन्दाको पञ्चयज्ञ सम्पन्न हुन्छ । यहाँ होम गर्नुभन्दा पहिले पितृहरूको पूजा हुन्छ । जसलाई पितृ यज्ञ भनिन्छ ।
इन्द्रायणीमा पूजा र जात्रा गर्नको लागि सबभन्दा पहिले द्योःछेंमा राखिएको मूतिलाई खटमा राखेर बाजागाजाको साथमा ल्याइन्छ र मन्दिरमा सजाएर राखिन्छ । होमपूजा त्रयोदशीको मध्यरातमा सुरु हुन्छ । यस होममा चढाउनको निम्ति कम्तिमा ३२ प्रकारका अन्न, गेडागुडी लगायत खाद्य वस्तुहरू राखिन्छ । यज्ञमा आहुती दिनको लागि एक जोडी भँगेरा, एक जोडी फट्यांग्रा, एक जोडी माछा, एक जोडी सर्प र राँगाको टाउकोको समेत तयार पारिन्छ । यस यज्ञलाई स्थानीयले सर्पाहुती यज्ञ भन्दछन्। यस होमबाट देव यज्ञ पनि सम्पन्न हुने मान्यता रहेको छ ।
होम कार्य सम्पन्न भएपछि पुजारीहरू मन्दिरभित्र प्रवेश गरेर मूलढोका बन्द गरी गोप्य तान्त्रिक विधिले शक्ति पूजा गर्ने गर्छन्। अर्कोदिन विभिन्न गुठीहरूबाट राँगाको बली चढाएर पूजा गरिन्छ । यहाँ बली चढाएको राँगाको रगत र मासु मन्दिर परिसरमा घुमाउँदा चारैतिर छर्कने र खस्ने हुन्छ । यसरी खसेको रगत र मासुको स्वाद पाएर भूतप्रेत पिचासहरू र अन्य गणहरू समेत सन्तुष्ट हुन्छन्भन्ने मान्यता रहेको छ । यस प्रक्रियमलाई भूतयज्ञ भनिन्छ ।
सोही बली चढाएको पशुको धाँटीको मासु र अन्य कमलो मासु पोलेर सम्यह्यबजी तयार पारेर मन्दिरमा प्रसाद चढाइन्छ । सोही शक्तियुक्त सम्यह्यबजीलाई मन्दिर परिसरभित्र बसेर गुठीयारले प्रसादको रूपमा ग्रहण गर्छन् । प्रसाद ग्रहणपछि यज्ञ सम्पन्न हुन्छ । आज मध्यरातमा इन्द्रायणी )मन्दिर अगाडि दुर्लभ सर्पाहुती यज्ञ गरिन्छ। यस यज्ञमा ३२ थरिका विभिन्न अन्न, गेडागुडी, पीठो आदि होम गरिन्छ भने यसका साथसाथै एक जोडी भंगेरा, एक जोडी फटयाङ्ग्रा, एक जोडी माछा र एक जोडी सर्प पनि होम गर्ने गरिन्छ र अन्तिममा बलि दिई पुन: प्राण भरिएको राँगाको टाउको पनि यसै यज्ञमा होमिन्छ । यसरी यज्ञ गर्ने बेला एक जोडी होमिन्छ भने एक जोडी छोड्ने प्रचलन रहेको छ र यस होम सकिएपछि मन्दिरभित्र पूजा खलक मात्र बसी ढोका लगाई गुप्त पूजा गर्ने गरिन्छ। यसपछि भोलिपल्ट दिनभरि अजिमाको मूर्ति दर्शनको लागि मन्दिरमै राखिन्छ र राती भव्य जात्रा गरि थँहितीमा लागि राख्ने गरिन्छ।