तत्कालीन समय रोपवे सञ्चालन हुँदा सामग्री ओसारपसारका लागि तीन दिनसम्म पालो कुर्नुपर्ने अवस्था थियो भनिन्छ । २०५४ सालमा बन्द नहुञ्जोल रोपवेले प्रतिकेजी ३४ पैसामा सामान ढुवानी गर्दै आएको थियो । श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत सञ्चालित रोपवे सेवामा ९ सय जना रोजगार थिए, तत्कालीन समयमा प्राविधिक समस्या (ट्रान्सफर जलेको) उत्पन्न भएपछि उक्त समस्या हल गर्न ४ लाख खर्च गरिएको भए रोपवे सञ्चालन गर्न सकिन्थ्यो भन्ने जानकारहरूको तर्क रहेको छ । वैकल्पिक मार्ग नखुलेको भए सरकारलाई मालसामान ढुवानीको विकल्प नहुने र रोपवे सञ्चालन गर्नै पर्ने कर लाग्थ्यो फेरि सरकारले वैकल्पीक उपाय पाएपछि रोपवे संचालन हुन सकेन् ।
अन्ततः २०५४ साल बैशाखदेखि बन्द रोपवे सरकारले २०५९ सालमा मन्त्रिपरिषद्को निर्णयबाट खारेजै गर्यो । ९ सय कर्मचारीको रोजगारी खोसियो, मालसामान ढुवानीमा हुने सहजता हट्यो । एक किलो सामाग्रीको ५ पैसामा ढुवानी हुने गरेकोमा सामग्री ओर्सादा प्रतिकिलो एक पैसामात्र खर्च हुने गरेको रोपवेको छेउछाउका बासिन्दाको अभुवभ छ । त्यतिबेलाका बासिन्दाहरु रोपवे स्थापनालाई नयाँ युगको सुरुवातको रुपमा लिने गर्दथे र यसको प्रशंसा नगर्ने कमै मानिस भेटिन्थे ।
तर अहिले तारमा झुण्डिएका डब्बाहरुमा झार उम्रिएका छन्, रोपवेका कारण घर नबनेका स्थानहरुमा अहिले धमाधम घर निर्माण हुन थालेका छन्, काठमाण्डाैमै पनि रोपवेका तार तथा खम्बाहरू नीजि घरका कम्पाउण्डभित्र पारेर भाैतिक संरचना निर्माणले तिव्रता पाएको छ । अहिलेपनि कतै कतै रोपवेका तार तथा डब्बा (क्यारियर) हरू झुण्डिएको देख्न पाइन्छ । -वर्ड फोटो अफ नेपालबाट