![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
प्रकृति र मानिस एक–अर्काका परिपूरक हुन् । यी दुवैबीचको अन्तरसम्बन्ध जीवन्त राख्न इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर ब्यारेक परिसरभित्र चराचुरुङ्गी संरक्षणका साथै पक्षी वास बगैँचा निर्माण गरिएको छ।
मौसम परिवर्तनसँगै ठाउँ परिवर्तन गरेर आउने विभिन्न प्रजातिका चरा ब्यारेक परिसरमा पाइने गरेका छन् भने विभिन्न प्रजातिका बकुल्लाले दुई छिमलमा बच्चा कोरलेर हुर्काइ लग्नेसमेत गरेका छन्।
चराचुरुङ्गी साथै विभिन्न प्रजातिका बोटबिरुवा संरक्षणका साथै विविध प्रजातिका फुल संरक्षणमा पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति उपरथी आशबहादुर तामाङ (पिएचडी) को महत्वपूर्ण भूमिका रहेको छ।
प्रकृतिमा रहेको सम्पूर्ण प्राणी समान तवरमा बाँच्न पाउनु पर्छ भनेर चराचुरुङ्गीको संरक्षण गरिएको र उनीहरुको बाँच्ने आधारका निमित्त फलफूलका बिरुवासमेत ब्यारेक परिसरमा रोपिएका छन्।
ब्यारेक परिसर चराहरुको वासस्थान भए पनि सेनाका जवानहरुलाई तनावमुक्त बनाउन पक्षी बगैँचा निर्माण गरिएको पृतनापति तामाङले बताए।
‘ब्यारेक आफैँमा चराहरुको वासस्थान हो, तर यहाँ जवानहरुको भान्साघर भएकाले जवानहरुलाई ‘स्ट्रेस मेनेजमेन्ट’ हुन्छ भनेर पक्षी बगैँचा बनाइएको हो,’ उपरथी तामाङले भने, ‘यो सबै हामीसँगै भएको श्रोत, सामाग्रीले बनाएको हो, यहाँ चरा नहुँदा पनि भएजस्तो अनुभूति होस् भनेर यस्तो बनाइएको हो।’
पक्षी बगैँचाभित्र निर्जीव वस्तुलाई कलात्मक स्वरुप दिइएको छ। चरा, च्याउको घर, चराको गुँडलगायत आकर्षक कला देख्न सकिन्छ‚ जुन पृतनापति तामाङको अवधारणामा निर्माण भएका हुन्।