खुकुरी नेपालमा विभिन्न जातजातिहरूले आफ्नो संस्कार र संस्कृतिअनुसार कुल पूजा गर्ने गरेको पाइन्छ । महाभारत कालमा पाडवहरूलाई बनवास जानुपर्यो । जंगलमा आफ्नो अशस्त्र-शस्त्रहरू लुकाए, खिया लाग्छ भनेर वर्षमा एकपटक सो अशस्त्र शस्त्रहरूको सरसफाइ, मर्म्मत र पूजा अराधना गोप्य रूपमा गर्दै थिए । सोही समयदेखि हिन्दू धर्मावलम्बीहरूमा दशैंको नवरात्र अष्टमीका दिन शस्त्र पूजाको चलन सुरू भएको भनाइ छ ।
खुकुरीको आविष्कार
खुकुरीको उत्पत्ति, उद्गम र विकास कहाँ र कसरी भयो सो बारेमा विभिन्न धारणाहरू पाइन्छन् | खुकरीको आविष्कार नेपाल सम्बत् २८६ मा कीर्तिपुरको नेवार समुदायबाट भएको हो भन्ने इतिहासकारहरूको भनाइ छ। प्राचीन समयमा कीर्तिपुरमा अत्यन्त सिपालु कारिगरहरू थिए । एकदिन एउटा नयाँ तरिकाको अलगै हतियारको आविष्कार गर्ने कीर्तिपुरका एक कारिगरले परिकल्पना गरे | त्यस परिकल्पनाअनुरूप पटुकाभित्र भिर्न मिल्ने खुकुरीको अविष्कार गरे, तर पाइन हाल्न बाँकी नै थियो । कडा पाइनका लागि कडा पानीको खोजीमा ती कारिगर नंखि बुँगा: (कुवा) मा पुगेर पानीको पारख गर्दा उक्त पानी नै उपयुक्त ठानी पाइन हाल्ने कार्य गरे । त्यसपछि कारीगरले पाइन कस्तो भयो भनि त्यस बुँगा: संगैको एउटा रुखको फेदमा खुकुरीले छोएको मात्र थियो च्वाट्टै छिनेर त्यो रुख अलि पर उस्तै उभिन पुगेछ । उक्त घटनाले चकित परेका त्यस कारीगरले कुनै विचारै नगरी हडबडाएर खुकुरीको पाइन कस्तो रहेछ भनि खुकुरीले बिस्तारै आफ्नै गर्दनमा मात्र छोएको थियो गर्दन छिनेर कारीगर ढल्न पुग्यो |
पाइन हाल्न गएको कारीगरलाई पर्खदा पर्खदै रात बित्यो । बिहानसम्म पनि फर्केर नआएपछि कारीगरनीले खोज्न जाँदा त्यहि नंखि बुँगा: निर टाउको एकातिर शरीर अर्कोतिर परेको लाशको रुपमा फेला पारिन् । त्यस पछि त्यहाँ भद्र भलाद्मीहरुका साथ तान्त्रिकहरु पनि भेला भए । कुनै पनि नयाँ हतियारको सर्वप्रथम आविष्कार गर्दा त्यसमा भगवती चढी हाल्ने र त्यसलाई तुरुन्तै पशुबली दिनु पर्ने, त्यसो नगरेमा त्यसको आविष्कारकलाई नै बलीको रुपमा लिइन्थ्यो | त्यसकारण, मृतक कारीगरको संस्कार गरेपछि त्यो खुकुरीलाई पुन: बोकाको बली दिई कीर्तिपुरको क्वाथ (क्वाचो)को कोतघरमा पूजा गरी राखे । उक्त खुकुरी कीर्तिपुरको युद्धपछि विलिन भएर गयो भन्ने आमधारणा छ | युद्धको लागि तयार गरेका डेढ दुई हाते लामो खुकुरी आज पनि कीर्तिपुरमा देखा पर्छ ।
त्यसैबेलादेखि प्रत्यक वर्ष दशैँमा पूजा कोठामा भगवतीको पूजा गर्दा कीर्तिपुर र वरपरीका गाउँहरुमा प्रत्येक हतियारहरूमा पूजा गरेर मात्र हतियार चलाउने चलन आजसम्म पनि छँदैछ । उक्त घटनापछि बुँगा:लाई स्थानीयवासीहरूले माथिबाट एउटा कपडाले छोपिदिएछन् | तर त्यो कपडा त्यहीँ खसेछ । भोलिपल्ट त्यस बुँगा:भित्र खसेको कपडा झिकेर हेर्दा रंगाएको कपडा जस्तै एकदमै कालो देखा परेछ | सो विचित्रको कुवा यद्यपि छँदैछ । उक्त बुँगा:को पानीमा सेतो धागोलाई ४/५ घण्टासम्म डुबाएर झिक्दा घागो निख्खर कालो हुने सोही कालो धागोको पतासी (फरिया) बनाएर लगाउने चलन कीर्तिपुरका महिला वर्गमा धेरै लामो समयसम्म चल्दै आइरहेको थियो । तर बिक्रम सम्वत् २००७ (नेपाल सम्वत् १०७१)सालको परिवर्तन र नेपालमा प्रजातन्त्र आएपछि यहाँ पनि रङ्गीचंगी फरियाको चलन बढ्दै गएकाले अब त्यो रङ्गाउने चलन र कालो पतासी लगाउने पनि क्रमशः घट्दै गएको देखिन्छ ।