काठमाडौँ– काँधको देब्रे भागबाट छड्के परेर देब्रे कम्मरसम्म पुगेको जनै, कम्मरमा बेरिएको धोती र कपाल खौरिएर छाडिएको लामो सर्लक्क टुप्पी। नेपाली समाजमा बिध्यमान जात व्यवस्थाको कथित उपल्लो जातिलाई जनाउन यो बिम्ब पर्याप्त हुन्छ। उनको हातमा गुलाफको एउटा रातो फूल छ। गुलाफलाई अर्को एक पुरुषले पनि समाएका छन्। ती पुरुष भने उपल्लो जातका देखिँदैनन्।
उनीहरूले समाएको गुलाफलाई प्रेमको प्रतीक बनाइएको छ। पृष्ठभूमिमा पहेँलो रङ, क्यानभासमा एक्रिलिक रङमा बनेको एउटा चित्र। ललितकला प्रज्ञा प्रतिष्ठानको भित्तोमा सजिएको दृश्य हो यो। “(चित्रको) पहेँलो रङले यो माहोलमा छाएको खुशी र रोमाञ्चकतालाई दर्शाउँछ,” कलाकार अजय उपरकोटी भन्छन्, “माया त माया नै हो नि, जो, जससँग र जसरी भए नि।”
समाजमा प्रचलित प्रेमको परिभाषाले दुई भिन्न लैँगिक व्यक्ति (महिला र पुरुष) बीचको भावनात्मक, रोमाञ्चक भावलाई बुझाउँछ। तर उपरकोटीको क्यानभासमा कोरिएको कलाले प्रेमको परिभाषा फराकिलो पार्ने प्रयास गरेको छ।
उनको यो कलाले सन् १९९६ मा भारतीय मूलका क्यानेडेली लेखक तथा निर्देशक दीपा मेहेताले बनाएको चलचित्र ‘फायर’को याद दिन्छ। उक्त चलचित्रले प्रेमको परिभाषालाई समाजले मानक मानेका विपरीत लिंगमा मात्र सीमित गरेको छैन। बरु, पूर्वीय समाजको सामाजिक मान्यतामा तरंग ल्याइदिएको थियो। कारण, चलचित्रमा दुई महिला एक–अर्कासँग प्रेम गर्छन्, जसलाई चलचित्रमा ठ्याक्कै समलिंगी भनिएको छैन। यद्यपि, दर्शकले अनुमान गर्न सक्छन्।
चलचित्रमा जेठानी (सबाना आजमी) र देउरानी (नन्दिता दास)को प्रेम कथा र उनीहरूको संघर्ष देख्न सकिन्छ। भारतमा सन् १९९० को दशकमा कलामार्फत यौनिक तथा लैंगिक अल्पसंख्यकको विषय उठान भइरहँदा हालै काठमाडौँमा दलित क्वियर ललितकला प्रदर्शनी भइरहेको छ। आयोजक सामरी उत्थान सेवाकी अध्यक्ष विमला गायक नेपालमा यस्तो चित्रकला प्रदर्शनी पहिलोपटक भएको दाबी गर्छिन्।
ललितकला प्रज्ञा प्रतिष्ठानमा भइरहेको ‘जात व्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध’ नामक प्रदर्शनीमा अजय उपरकोटीसहित कलाकारले बनाएका ४० कलाकृति छन्। तिनमा जात व्यवस्था र दलित यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि भएका विभेद र समस्याको चित्रण छ। समाजमा दलित समुदायले भोगिरहेको भेदभाव र त्यही समुदायका फरक यौनिक तथा लैंगिक पहिचानका व्यक्तिहरूले भोगिरहेको दोहोरो पीडालाई प्रदर्शनीमा देख्न सकिन्छ।
कलाकार उपरकोटी भन्छन्, “म दलित समुदायमा पर्छु, यसकारण समाजले गर्ने जातीय विभेदको रङ दखेको छु। दलित नै भएको कारण मलाई गाह्रो छ भने, यही समुदायका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई कस्तो होला? उहाँहरू डब्बल लेयर अफ भिक्टिममा हुनुहुन्छ।”
चित्रकलाका विद्यार्थी उपरकोटी आफूले समाजमा व्याप्त असमानता र भेदभावलाई आफ्नो कलामा अभिव्यक्त गर्ने गरेको बताउँछन्। फरक यौनिक तथा लैंगिक समुदायलाई समाजमा समान र सम्मानजनक स्थान दिइनु पर्ने उनको भनाइ छ।
उपरकोटीजस्तै राहुल विकले पनि रङ र क्यानभासको माध्यमबाट जातीय उत्पीडनको कथा भनेका छन्। राहुलले भने समाजमा धर्मका नाममा स्थापित असमान र अपमानजनक भाष्यलाई नै चित्रमा उतारेका छन्। “पुराणहरूमा ब्राह्मणहरू देवताको शीरबाट, क्षेत्री बाहु, वैश्य पेट र शूद्र पैतालबाट उत्पति भएको भनिएको छ,” उनी भन्छन्, “सोही कथनलाई मैले चित्रमा उतारेको छु। तर शूद्रलाई भने मानिसजस्तै आकार भएको शरीरको पैतालाबाहिर राखेको छु। समाजको व्यवहार अनुसार, हामी त शरीरभित्र पनि परेनौँ नि।”
दलितले भगवानका सुन्दर मूर्ति बनाउँदा मन्दिरभित्र राखेर पुजिने, तर मूर्ति बनाउने मानिस भित्र पस्न नपाउने अवस्थालाई कलामार्फत विरोध गरेको उनको भनाइ छ। “मैले त्यस्तो जटिल र बुझ्न गहन हुने केही पनि बनाएको छैन। जे समाजमा भोगेको छु, त्यसैलाई चित्रमा कोरेको हुँ,” राहुलले भने, “कला भनेको एक्स्प्रेसनको माध्यम हो। समाजमा भएका कुप्रथालगायतलाई सबैभन्दा उत्तम तरिकाबाट गरिने अभिव्यक्ति हो।”