भारतमा चार राज्यमा भएको विधानसभा चुनावको मतगणनाको नतिजा अत्तिम चरणमा पुग्दा केन्द्रमा सत्तासीन भारतीय जनता पार्टी (भाजपा)ले हिन्दीभाषी क्षेत्रका प्रमुख तीन राज्यहरुमा बहुमतसहितको जित हासिल गर्दैछ । जारी मतगणना अनुसार मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले बहुमत प्राप्त गरेको छ । मध्यप्रदेशमा आफ्नो सरकारलाई जोगाएको मात्रै छैन त्यहाँ विशाल जित हात पारेको छ ।
त्यस्तै, राजस्थान र छत्तीसगढ राज्यमा पनि ठूलो जित हात पारेको छ । ती दुवै राज्यमा कांग्रेसको सरकार थियो । नोभेम्बरमा चरणबद्ध रुपमा मध्यप्रदेश, राज्यस्थान, छत्तिसगढ, तेलंगाना र मिजोरम राज्यमा चुनाव भएको छ ।मिजोरम बाहेकका चारवटा प्रदेशको मतगणना आइतबार एकैसाथ भएको हो । मतगणना भएका चारवटा राज्यमध्ये तीनवटामा भाजपा र दत्षिणी राज्य तेलंगानामा कांग्रेसले जित हासिल गर्दैछ । साढे ५ महिना पछि अर्को वर्ष २०२४ को मई महिनामा केन्द्रीय चुनाव हुँदैछ ।
त्यसअगाडि भएका राज्य तहका विधानसभाहरुको चुनावलाई केन्द्रीय चुनावको तस्बिरको रुपमा हेरिँदै आएको थियो । विपक्षी दल कांग्रेसले सरकार चलाईरहेको राजस्थान र छत्तीसगढमा पनि जित हासिल गरेको भाजपा यतिबेला उत्साहित देखिएको छ । सम्बत्धित प्रदेश र देशैभरका भाजपा पार्टी कार्यालयहरुमा कार्यकर्ताहरुले खुसी मनाएका छन् ।
कांग्रेस नेता राहुल गान्धीले गतवर्ष गरेको ‘भारत जोडो यात्रा’ वा उनका अन्य विभिन्न प्रयासहरुको जादू हिन्दी भाषी प्रदेशमा देखिएन । यसअघि दत्षिणी राज्य कर्नाटकमा जित हात पारेको कांग्रेसले पुनः त्यही क्षेत्रको तेलंगानामा भने सफलता पाएको छ । त्यहाँ क्षेत्रीय पार्टी बीआरएसको सरकार थियो । मिजोरमको मतगणना सोमबार हुने छ । त्यहाँ ‘हंग पार्लियामेन्ट’ हुनसक्ने अनुमान गरिएको छ । त्यहाँ अहिले नेसनल फ्रन्ट पार्टीको सरकार छ ।