काठमाडौं । अहिले सवारी साधन व्यवस्थापनको लागि खटाइएका ट्राफिक प्रहरीहरू नेपाल प्रहरीको एउटा महाशाखा अन्तर्गत रहन्छन । तर यसको इतिहासलाई हेर्ने हो भने यो नेपाली सेनाको एउटा पल्टनबाट सुरु भएको पाइन्छ। सन १८५७ मा अंग्रेजले गोर्खा रेजिमेन्टको सहयोग लिएरै भारतको सिपाही विद्रोह दबाएको थियो। त्यो विद्रोह दबाउन रैफल, कालीबस्क, नयाँ गोरख, गोरखनाथ, श्रीनाथ, बर्जबहादुर, सूर्यदल, कालीबहादुर, देवीदत्त, नरसिंहदल, जबरजंग, गणेशदल, भैरवनाथ, पुरानो गोरख, कालीप्रसाद, सिंहनाथ, शमशेरदल, रामदल, महेन्द्रदल, राजदल, शेरपल्टन, जंगनाथ, सबुज, बरख र कालीजंग पल्टनका सेना खटिएका थिए।
त्यसबेला नेपाली सेनाले बेलायतलाई साथ नदिएको भए त्यसैबेला भारतमा बेलायती साम्राज्य अन्त्य हुने धेरैको विश्लेषण छ। तर, राणाकै कमजोरीले थुप्रै नेपाली सैनिकले अनाहकमा ज्यान गुमाए। यिनै पल्टनमध्येको रामदल पल्टनलाई भने राणा प्रधानमन्त्री जुद्धशमशेर राणाको पालामा ट्राफिक प्रहरीको रूपमा पनि प्रयोग गरिएको थियो ।
तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको पालामा सन १९३८ मा ट्राफिक नियन्त्रणमा प्रहरीको उपस्थिति बढाउनुपर्ने आवश्यकतालाई बुझेर ट्राफिक व्यवस्थापनका लागि नेपाली सेनाबाट सुरुमा रामदल परिचालन गरिएको थियो । त्यसबाहेक रामदल पल्टनका सेनाहरूको प्रयोग काठमाडौं उपत्यकाभित्र अशााित र चर्काउन सक्ने महत्वपूर्ण जोखिमलाई रोक्नको लागि गरिएको थियो ।
‘नेपाल मिलिटरी पुलिस’ नेपाल प्रहरी लेखिएको टोपीबाट यी सशस्त्र प्रहरीलाई चिन्न सकिन्छ । सन १९५१ मा राणा शासनको पतनपछि रामदललाई विघटन गरी स्थायी रूपमा नेपाल प्रहरीमा सरुवा गरिएको थियो । वि।सं। २००७ मा प्रजातन्त्र स्थापना भएपछि नेपाली सेनाको रामदल पल्टन र तत्कालीन जनमुाित सेना (जसलाई पछि रक्षादल भनियो) को संयुक्त फौजबाट नेपाल प्रहरी संगठन निर्माण गरी प्रहरीको प्रमुखमा प्रथम आईजीपीको रूपमा तत्कालीन नेपाली सेनाका जर्नेल तोरणशमशेर जबरालाई नियुक्त गरियो भने वि।सं। २००८ मा आईजीपी अफिसको स्थापना गरियो ।
यसै क्रममा वि.सं.२०१२ मा प्रहरी ऐन लागू भएपछि भने नेपाल प्रहरी संगठन विधिवत रूपमा स्थापित भएको मान्न सकिन्छ । यसले विभिन्न नाम र कामले छरिएर रहेको नेपाल प्रहरी संगठनलाई विधिवत रूपमा एउटै छातामुनि समेटेको मान्न सकिन्छ । यसपछि प्रहरी संगठनलाई ३ अञ्चल १० एरिया ३५ जिल्लामा कार्यविभाजन गरियो, जसअन्तर्गत ३ अञ्चलमा प्रहरी नायब महानिरीक्षक १० एरियामा प्रहरी उपरीक्षक र ३५ जिल्लामा प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक रहने व्यवस्था भयो ।
– सुदर्शन अर्याल