असली रक्तचन्दनको नेपालमा रैथाने प्राकृतिक जंगल छैन । कतैकतै किसान तथा सामुदायिक वनहरुले यसको वृक्षारोपण गरी हुर्काएको पाइन्छ र हुर्काउने क्रम जारी छ । जतिबेलादेखि नेपालमा रक्तचन्दनको काठको तस्करीका बारेमा मिडियाहरुमा ब्यापक चर्चा हुन थाल्यो, रक्तचन्दन त साँच्चिकै निकै नै महँगो काठ हो भनी मानिसमा सूचना पुग्यो र मानिसहरुबाट रक्तचन्दनको विरुवाको खोजी सुरु भयो ।
असली रक्तचन्दनको काठ किन महँगो छ त ?
अहिले संसारमा राम्रा खालका कस्मेटिक्स र यौनबर्द्धक औषधीहरूको माग दिनानुदिन बढ्दो छ । यसको काठलाई आकर्षक फर्निचर, पुतली, प्रतिबिम्व र मूर्तिहरू कुँद्न, माला बनाउन, सांगितिक उपकरण/सामिसोन उत्पादन गर्न, गुम्बा बनाउन तथा कस्मेटिक्स र यौनबर्द्धक आयुर्वेदिक औषधी एवम् अत्तर बनाउन प्रयोग गरिन्छ । यसको चूर काठ अर्थात् हर्ट उडको चूणर्को लेपलाई छालामा लगाउँदा यसले छालालाई शितलता प्रदान गर्नुका साथै मुलायम र आकर्षक बनाउँछ । पातलाई डाँलेघाँसको रूपमा प्रयोग गरिन्छ । रक्तचन्दनको हिन्दु तथा बौद्ध धर्ममा ठूलो धार्मिक महत्व पनि रहेको छ ।
विश्व बजारमा असली रक्तचन्दनको चूर काठको दिनानुदिन माग बढ्दो छ । भारतको आधिकारिक पसलहरूमा यसको चूर काठ प्रतिकेजी ९६०० रुपैयाँमा किन्न पाइन्छ । वैधानिक तवरले उत्पादित रक्तचन्दनको चूरो काठ भारत सरकारबाट विद्युतीय बोलपत्रमार्फत् ग्लोबल टेण्डर गरेर प्रत्येक वर्ष बिक्री गरिँदै आएको छ । यसबाट के प्रमाणित हुन्छ भने नेपालमा पनि वैधानिक र दिगो तवरले उत्पादित असली रक्तचन्दनको चूर काठलाई विश्व बजारमा वैधानिक तवरले नै बेच्न सकिन्छ ।
असली रक्तचन्दनको बिरुवा कस्तो ठाउँमा र कसरी लगाउने त ?
रक्तचन्दनको बिरुवालाई सजिलै हुर्काउन सकिन्छ र यो छिटो बढ्छ । रक्तचन्दनलाई १५०(९०० मिटरसम्मको उचाइ भएको पानीको राम्ररी निकास भएको रातो वा दुमट माटो भएको खुल्ला घाम लाग्ने स्थानमा लगाउन सकिन्छ । यसले तुषारोलाई सहन सक्दैन र ० देखि —१ डि.से. तापक्रम पुगेको मौसममा यो बिरुवा मर्छ । यसको विरुवालाई चार मिटरको फरकमा लगाउन उपयुक्त हुन्छ । यसरी बिरुवा लगाउँदा एक कठ्ठामा २१ वटा र एक रोपनीमा ३१ वटा बिरुवा लगाउन सकिन्छ ।
कति काठ उत्पादन हुन्छ त ?
बिरुवा लगाएको २० वर्षदेखि अर्थात् पोल साइजको चुर काठ प्राप्त हुने मोटाइ पुगेमा रुख काट्नयोग्य हुन्छ । एउटा रुखबाट सामान्यतया २५० केजी चुर काठ प्राप्त हुन्छ । यस अर्थमा एक कठ्ठा जग्गामा लगाएको रुखबाट ५२५० केजी चूर काठ प्राप्त हुन्छ । विश्व बजारमा यसको चूर काठको सबैभन्दा न्यूनतम मूल्य प्रतिकेजी १६०० रुपैयाँ रहेको र सो दरले हिसाब गर्दा उक्त काठबाट ८४ लाख रुपैयाँ प्राप्त हुन सक्ने देखिन्छ । यसरी हेर्दा एउटा रुखबाट कम्तीमा चार लाख रुपैयाँ प्राप्त हुने अनुमान गर्न सकिन्छ ।
बिरुवा लगाएपछि के गर्ने ?
असली रक्तचन्दनको बिरुवा आफ्नो धनीपूर्जा भएको नम्बरी जग्गामा लगाउनु पर्छ । बिरुवा लगाएर लाथ्रा अवस्थामा पुगेपछि वन कार्यालयको सिफारिसमा आफ्नो स्थानीय तहमा निजी वन दर्ता गराई सो को प्रमाणपत्र अनिवार्य रूपमा लिई राख्नु पर्छ । यसले उत्पत्तिको प्रमाणपत्रको काम गर्छ । निजी वन दर्ता गराई राख्नुभयो भने उत्पादित रक्तचन्दनको काठ र सोबाट उत्पादित तेललगायत अन्य वस्तुहरूको विदेशमा बिक्री गर्ने बाटो सजिलै खुल्छ ।