काठमाडाै । नेपालमा सबैभन्दा ख्यातिप्राप्त भीमसेन दोलखा भीमसेन भए पनि काठमाडाै, पाटन र भीमफेदीका भीमसेन निकै ख्याती प्राप्त पनि छन् । भीमसेन शक्ति सम्प्रदायका देवता भएकाले भैरवका रूपमा पनि पुजिन्छन् । उनी व्यापार र व्यापारीहरूका देवता भएकाले विशेषतः नेपालमा नेवार समुदायका व्यापारी वर्ग श्रेष्ठ, तुलाधर, कंसाकार, मानन्धर आदिले श्रद्धा र भक्तिपूर्वक मान्ने यी भीमसेनलाई हिन्दू तथा बौद्ध दुवै सम्प्रदायका मानिसहरूले पुज्दछन् । काठमाडाै उपत्यकाका व्यापारीहरूले भीमसेनको पूजा गर्नुको प्रमुख कारण यिनको बल र साहसलाई श्रद्धा र भक्तिद्वारा अविवादन गर्नु नै हो ।
काठमाडाै उपत्यकाका विभिन्न ठाउँहरूमा निर्मित भीमसेन मन्दिरहरूमध्ये गोकर्णेश्वरको भीमसेन टोलमा रहेको भीमसेन मन्दिर पनि एक महत्वपूर्ण मन्दिर हो । यो मन्दिर गोकर्णेश्वर मन्दिरको दक्षिणपूर्व करिब दश मिनेट परको गोकर्ण देश जाने बाटोको दायाँ तर्फ गोकर्णेश्वर-२ को सिमानामा पर्दछ । कलाशैली लिच्छवि कालको जस्तो लाग्ने यो मन्दिर मल्लकालीन हो । यही मन्दिरको नाउँबाट स्थानीय टोललाई ‘भीमसेन टोल’ नामाकरण गरिएको मानिन्छ ।
यहाँ रहेको भैरव मन्दिरको दक्षिणपट्टि भित्तामा नेवारी संवत् ८०२ (वि.स.१७३९) को एउटा अभिलेख (शिलापत्र) प्राप्त भएको छ । मोहनप्रसाद खनालले ‘मध्यकालीन अभिलेख’ नामक आफ्नो पुस्तकमा यस अभिलेखको चर्चा गरेका छन् । नेवारी लिपि भएको एघार पङ्तियुक्त यो अभिलेखको लम्बाई ९ इन्च छ भने चौडाइ ९ इन्च रहेको छ । मध्यकालीन एकतले छाने शैलीमा रहेको यो मन्दिरको वर्तमान स्वरूप भने पहिलेको मन्दिर भत्कीई सिमेन्ट ढलाइ गरी पछिबाट निर्माण गरिएको पुनः निर्मित स्वरूप हो । यो मन्दिरको निर्माणमा सिमेन्ट, रड, गिटी आदिका साथै चारैतिर स्तम्भ खडा गरी माथि ढलान गरी छानाको स्वरूप दिइएको छ । यो एउटै मन्दिरको छानामुनि बीचमा खडा भएको स्तम्भको अग्र र पश्च दुवै विपरीत दिशातर्फ एक प्रस्तरको मूर्ति रहेकोमा मन्दिरको मुख्य प्रवेशद्वार तर्फ भीमसेनको मध्यकालीन मूर्ति रहेको छ जसलाई स्थानीय नेवार समूदायका मानिसहरू ‘भिन्द्य’ भनी पूजा आजा गर्ने गर्दछन् ।
प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन भीमसेनलाई अन्न फलफूल आदिले पूजा उपासना गर्ने गरिन्छ भने कान्ति भैरव जात्राको पाँचै दिन भीमसेनको पूजाका साथै रथयात्रा पनि हुने गर्दछ । त्यस्तैगरी श्रीपञ्चमीको एक हप्ता पछि पर्ने भीमद्वादशीका दिन पनि स्थानीय नेवार समूदायका व्यक्तिहरूले भीमसेन समक्ष कुखुरा, बोका, थुमा आदिको पूजा वली दिइ बल शक्ति माग्ने प्राचीन परम्परा अद्यापि रहेको छ । यसका साथै फागुपूणर्िमाका दिन महाथानको विश्वकर्माको मूर्तिलाई पूजा गरी पञ्चामृत चढाइसकेपछि भीमसेनको मन्दिरमा आई स्थानीय नेवार समूदायद्वारा बोका, थुमा, कुखुरा आदिको बली दिने चलन छ भने उनको पूजावली पश्चात भोज खाने सिलसिलामा छोएला, तीन/चार थरीको तरकारी (समयवजी) र बोकाको घाटी पनि त्यही पोलेर खाने चलन पाइन्छ । त्यस्तै, प्रत्येक हप्ताको एकपटक विहिबारका दिन यहाँ स्थानीय नेवार समुदायका मानिसहरूद्वारा भजन कीर्तन गर्ने प्राचीन परम्परा अद्यापि निरन्तर रहेको कुरा स्थानीयबासीहरू बताउँछन् ।
यहाँ वार्षिकरूपमा मुख्य गरेर शिवरात्री र बडादशै गरी मुख्य दुई पर्वहरू मनाउँदै आएको पाइन्छ । त्यसमा पनि दशैको अवसरमा अधिकांश स्थानीय नेवारहरू थालीमा जमरा लिई भीमसनेको पूजा गर्न यहाँ आउँछन् भने यो चाडको अष्टमीदेखि दशमीकै दिनसम्म यिनको पूजा आजाका साथै कुखुरा, बोका र राँगो समेत भोग दिइन्छ ।