अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता श्रीलंकाबाट सारेको छ। आइसिसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेसँगै आगामी जनावरी र फेब्रुअरी हुने यू–१९ विश्वकप क्रिकेट अब दक्षिण अफ्रिकामा गर्ने भएको छ। आइसिसीको बोर्ड बैठकले सर्वसम्मत रुपमा विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सारेको हो।
दक्षिण अफ्रिकामा यसअघि यू–१९ महिला विश्वकप २०२३ र यू–१९ विश्वकप २०२० आयोजना भएको थियो।यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह ‘डी‘ माछ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।यसअघि श्रीलंका क्रिकेटमाथि राजनीतिक हस्तक्षेप भए भन्दै आइसिसीले निलम्बन गरेको थियो।
क्रिकेट श्रीलंकाका पदाधिकारी र खेलकुदमन्त्री रोशनरण सिङ्घेबीच एक वर्षदेखि विवाद चल्दै आएको थियो। मन्त्रीले क्रिकेट बोर्डमा भ्रष्टाचार र अव्यवस्थाको आरोप लगाउँदै आएका छन्। जसका कारण मन्त्रालयले क्रिकेट श्रीलंकालाई बर्खास्त गरेको थियो।