नेपाल सम्बत्अन्तर्गत कछलाथ्व नवमीको दिनलाई ज्वार नवमी भनिन्छ । यस दिन विशेष गरि भोगटेको अमिलो खाने गर्दछ । हुनत स्वन्ती नखः (तिहार) लगतैको नवमी भएकै कारण पनि यस दिन भोगटे मोलेर खाने गरिएको हो । भोगटे संगै सुन्तला, बिमिरोको अमिलोमा दहि राखेर मोलेर खाने गर्दछ ।
ज्वार नवमीको अर्को बिशेषता भनेको जुवा खेल्नु हो । जुवा तास खेल्नु भनेको बैधानिक रुपमा गैरकानुनी कार्य हो । तर यस दिन जुवा अन्तर्गत कौडा खेल्ने, तास खेल्ने गरिन्छ । मल्लकाल तिर यस दिन जुवा खेल्न छुट रहेको भन्ने मान्यता रहेको छ । अर्थात यो दिन जुवा खेलेपनि कुनै कानुन लाग्दैन भन्ने गर्दछ । धनेशराज राजोपाध्यायका अनुसार “तिहारमा जुवा खेल्ने चलन छ।जुवा खेल्ने जुवाडेहरुले जुगामी नवमीलाई जुवा खेलको ’चतुर्थी’को रुपमा लिएर यो वर्ष( तिहार) को जुवा खेलाइको उद्यापनको रुपमा लिने गर्दछन् र जुवा खेल्ने काम सकाउने चलन रहेको हो।“
यस नवमीलाई किन ज्वार नवमी भनिएको होला भन्ने विषय महत्वपूणर् रहेको छ । ज्वारको अर्थ अधिक अम्लपन हो । अम्ललाई तेज अर्थात तेजाव तत्व, उर्जासिल, ज्वलनशिल तत्वको रुपमा लिईन्छ । अमिलो अधिक खाएमा हाम्रो शारीरिक अवस्थामा (रक्तप्रवाहमा) असन्तुलन भई ज्वार अर्थात ज्वरो नै आउन सक्छ ।
अम्ल तत्व उम्लने उर्जावान गुण र दृष्य भएको कारण समुद्रमा उठेर आउने पानीको छाललाई “ज्वारभाट“ भनिन्छ । त्यस्तै दहि जमाउनको लागि “ज्वरन“ हालिन्छ यसमा भएको अम्लकै मात्राले दहिमा ज्वर आई जमाउने काम गर्छ । यस अर्थले अमिलो खाने नवमी भएका कारण यसलाई “ज्वार नवमी“ भनिएको हो ।
त्यस्तै धनेशराज राजोपाध्यायका अनुसारः यस नवमीलाई युगादी नवमी भनिन्छ । युगादि नवमीलाई जुगादि नवमी भन्दै जनजिब्रोले जुगामी नवमी, ज्वार नवमी भनियो भन्न सकिन्छ । बोलचालीमा युगलाई जुग पनि भनिन्छ । कात्तिक शुक्ल नवमी तिथिलाई युगादि नवमी भनिन्छ । यो युग परिवर्तन भएको दिन अर्थात् युग परिवर्तनको नवमी भएकैले यसलाई युगादि नवमी भनिएको हो ।