काठमाडौं । ४९ जना सदस्यको अविश्वासको तरबार बोकेर हेटौडा पुगेर एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग फुटबलको राजनीतिमा थप बलियो बनेका छन् । करिब एक वर्ष अघि तत्कालिन अध्यक्ष कर्माछिरिङ्ग शेर्पाका विरोधीहरुको गठजोडमा चुनाव जितेका नेम्वाङ्गले हेटौडाको विशेष महाधिवेशनबाट फुटबल राजनीतिमा थप शक्ति आर्जन गरेका छन् ।
गत साता हेटौडामा अविश्वासको प्रस्ताव फेस गर्दै नेम्वाङ्गले ८७ मध्य ५२ भोट प्राप्त गरेका छन् । जुन झण्डै एक तिहाईको नजिक हो । एक वर्ष अघिको एन्फाको केन्द्रिय चुनावमा नेम्वाङ्गले ४५ मत पाएका थिए । नेम्वाङ्गले प्राप्त गरेको मतमा नेम्वाङ्गसँग आफ्नो सानो समूह, गणेश थापाको समूह, कर्माछिरिङ्ग शेर्पा विरोधी समूहको मतको जोड थियो ।
तर एक वर्षपछि अविश्वासको प्रस्ताव फेस गर्दै नेम्वाङ्गले सबै समूहलाई बाहिर राख्दै एक्लै ५२ मत प्राप्त गरेका छन् । उनले एन्फा राजनीतिमा ‘अस्थिर’ खेलाडीको परिचय बनाएका इन्द्रमान तुलाधर समूहलाई आफुसँग मिसाएका छन् । भलै अविश्वासको प्रस्तावमाथि तुलाधरले मतदान गरेनन् । तर तुलाधरको समूहका रहेका अन्य सदस्यले भने नेम्वाङ्गको पक्षमा मत दिएका थिए ।
विशेष साधारण सभाको चुनावी समिकरणलाई कायम राख्न सकेको खण्डमा हेटौडा अधिवेशनले पंकज फुटबल राजनीतिमा थप बलियो बन्ने देखाएको छ । कार्यसमिति र साधारण सभामा झण्डै झण्डै अल्पमतमा देखिदै आएका पंकजलाई हेटौडा अधिवेशनले आरामदायी बहुमत दिएको छ । उनले अब आफ्नो कार्यक्रम र बजेट सहजै साधारण सभाबाट पारित गराएर फुटबल चलाउन सक्नेछन् ।
विवादको सुरुआत भने अडिटर नियुक्तिमा अध्यक्ष नेम्वाङ्गले झेल गर्न खोजेपछि भएको थियो । अध्यक्षमा नेम्वाङ्ग देखिएपनि फुटबल संघको निर्णय प्रक्रियामा महासचिव किरण राई जबर्जस्त हाबी छन् । सुशासन, पारदर्शीता र सामुहिक नेतृत्वको नारा भजाउँदै नेतृत्वमा आएका नेम्वाङ्गले एन्फा सञ्चालनमा आफ्नै नाराको ‘कत्लेआम’ गरेपछि संस्थापन इतर पक्ष मुर्मुरिएको अवस्थामा थियो । त्यसमा ध्यु थप्ने काम अडिटर नियुक्तिले गर्यो । हल्ला–खल्ला बढी हुने, उस्तै परे पारितै नहुने अवस्थामा अडिटर नियुक्ति जुम बैठकबाट टालटुले निर्णय गराउन खोजेपछि इतर पक्षले अध्यक्ष र महासचिवलाईनै अविश्वासको प्रस्ताव ठोकेर ‘सेखी’ झार्न खाजेको थियो ।
अविश्वासको प्रस्ताव अध्यक्ष हटाउने भन्दापनि नेतृत्वको सेखी ‘झार्ने’ र एन्फाको निर्णय प्रक्रियामा हाबी देखिएका महासचिवलाई हटाउने कोणबाट दर्ता गरेको थियो । तर एन्फा चलाउन महासचिव राईलाई एउटा बैशाखी बनाएका नेम्वाङ्गले महासचिवको प्रस्तावलाई थाती राख्दै एक्लै अविश्वासको प्रस्ताव ‘फेस’ गर्ने निर्णयमा पुगे । सोही अनुसार हेटौडमा कात्तिक २३ अर्थात बिहीबार मतदानका लागि विशेष साधारण सभाको बैठक राखे ।
सत्तामा आफु र आफ्नो हातमा शक्ति भएपनि कुनै पनि हालतमा अविश्वासको प्रस्ताव फेल गराउन सकिनेमा संस्थापन पक्ष ढुक्क थियो । ‘लोभी–बेमान’ले भरिएको फुटबल संघमा दुई तिहाईको मत जुटाउन नसकिनेमा इतर समूह समेत प्रस्ट थियो । दुवै पक्ष हेटौडामा तमासा गरेर आफ्नो शक्तिको परिक्षण गर्न चाहन्थे । सोही अनुसार हेटौडामा अविश्वासको प्रस्तावमाथि मतदान भयो । आफ्नो एजेण्डा राख्ने फोरम नपाएपछि इतर पक्षले निर्वाचन बहिष्कार गर्यो । निर्वाचन जितेदेखि पेलेरै फुटबल संघ चलाईरहेका नेम्वाङ्गले आफ्नो कुरा राखेर विशेष साधारण सभालाई सिधै शक्ति परिक्षणमा लगे ।
नेम्वाङ्गमाथि अविश्वास देखाएका ४९ जनाको समूहनै बिहीबारसम्म एक ठाउँमा देखिएन । इतर पक्षमा ३४ जनाले बैठक वहिष्कार गरे, ती सबै पूर्व अध्यक्ष शेर्पा पक्षका थिए । नेम्वाङ्ग पक्षका ५३ जना निर्वाचनमा भाग लिए, जसमा ५२ मत सदर भएको छ ।
एन्फाको विशेष साधारण सभाले एन्फाभित्रको शक्ति संघर्ष र शक्ति फेरबदलको धेरै खिस्साहरु बोल्छ, जसको विश्लेषण विस्तारै हुनेछ । तर अविश्वासको तरबार बोकेर हेटौडा पुगेका नेम्वाङ्ग भने थप बलियो बनेर सातदोबाटो एन्फा हेडक्वार्टर फर्कने निश्चित भएको छ । खेलपाटी