रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको सेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी अहिले गोल्माराजा बौद्ध बिहार जुटेको छ ।
उक्त क्षेत्रको विकासका लागि थाइल्याण्डले सहयोग गर्ने भएको छ । यही १० मंसिरमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साढे ९ फिटको बैरीबिनाश भगवान बुद्धको मूर्ति स्थापना गर्ने तयारी छ ।
सो क्षेत्रलाई ध्यानकेन्द्रको रूपमा समेत विकास गरिने भिक्षु मेधंकर स्थवीरले जानकारी दिए । उनकै खोज अनुसन्धानबाट ३५० वर्ष पहिलेको सो दरबार गोल्मा राजारानीको रहेको खुलेको हो । ओझेलमा पर्दै आएको ऐतिहासिक र पुरातात्त्विक स्थल रहेको सो दरबार र टुँडिखेलबाट रौतहट र सर्लाहीका फाँटहरू देखिन्छ भने वन जङ्गलभित्र बेल र पारिजातलगायतको फूलहरू छन् ।
दरबार भग्नावशेष अवस्थामा छ भने २०११ सालतिर मानव बस्तीको विस्तारसँगै दरबारको ईट्टा स्थानीयले लगेर घरसमेत बनाएका खुलेको छ । शेनबंशीय राजा गोल्माको दरबार रहेको खुलेसँगै अहिले स्थानीयले जीर्णोद्धारमा जोड दिएका छ । उक्त क्षेत्रको विकास र प्रवर्द्धन गर्न स्थानीयको सहयोगमा गोल्माराजा बौद्ध बिहार जुटेको हो ।
स्थानीयको श्रमदानबाट टुँडिखेलसम्म पुग्ने बाटो निर्माण गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीको सहयोगमा कुटीको निर्माण गरिएको छ । यस क्षेत्रको विकास र प्रवर्द्धन गर्न सके धार्मिक तथा पर्यटकीय गन्तव्य हुन सक्ने चन्द्रपुर नगरपालिका प्रमुख सञ्जयकुमार काफ्लेको अपेक्षा छ । उनले शेनबंशीय राजा गोल्मा राजारानीको दरबारको जीर्णोद्धार र टुँडिखेललाई समेत उपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिने बताए ।
प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले गोल्मराजाको दरबारको संरक्षणमा सबै जुट्नुपर्ने बताए । भग्नावशेष रहेको दरबारको जीर्णोद्धार गरी इतिहासलाई जीवन्त राख्नुपर्ने सामुदायिक वन उपभोक्ता समूह जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष बेदहरी दाहाल बताउँछन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित गैरीगाँउबाट आधा घण्टाको उकालोमा दरबारको टुँडिखेल पुगिन्छ भने टुँडिखेलबाट ५०० मिटरको ओरालो र उकालोको दूरीमा गोल्मा राजारानीको भग्नावशेष दरबार पुगिन्छ । दरबार क्षेत्रमा भेटिएका गोल्की पैसा, जाँतो, तरबारलगायतका सामान स्थानीयसँग अझै सुरक्षित छ । दरबार रहेको स्थानमा अझै त्यस बेलाको ईट्टा, काटिएका ढुंगा छन् ।