कोशी प्रदेशको भोजपुर नगरपालिका–१२ टक्सार बजार जिल्लाको मात्र नभई देशकै एक महत्त्वपूर्ण ऐतिहासिक, औद्योगिक तथा सांस्कृतिक नगरी हो। ०७० सालअघि यो टक्सार गाविसको रूपमा जिल्लामा छुट्टै पहिचान बनाएको स्थल थियो। राष्ट्रिय जनगणना, २०६८ अनुसार यहाँको कूल जनसंख्या ३ हजार ३५० छ।
कूल क्षेत्रफल २०.७२ वर्ग किलोमिटर रहेको यो बजार समुद्र सतहदेखि ३५०० फुट उचाइमा अवस्थित छ। ऐतिहासिक कालमा माझ किराँत प्रदेशको खिकामाछा थुमअन्तर्गत रहेको यस बजारलाई खिकामाछा बजार भनिन्थ्यो। यो थुम तत्समयमा किरातहरूद्वारा शासित थियो। विसं १८७० तिर यस थुमनजिकै पश्चिमतर्फ रहेका दुई गाउँहरू सिरिसे र धोदलेखानी तथा पूर्वमा याङ्पाङको खानीखोलानजिक तामा र फलामको खानी फेलापरेपछि ती खानीबाट तामा र फलामका धाउ उत्खनन गरी प्रशोधन थालियो।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि नेपाल सम्वत ९३५ अर्थात विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध बिक्रम शाह तथा जनरल भीमसेन थापाको कार्यकालमा यस स्थलमा उक्त कार्यका लागि टक्सार खानी अड्डा स्थापना गरी एक पैसे तथा दुईपैसे डोली पैसा टकमारी गर्न शुरु गरियो।
उक्त धाउबाट पैसा टकमारी गर्न थालिएपछि यस स्थलको नाम टक्सार रहन गयो। कालान्तरमा पूर्व ३ नम्बरको बहादुर खोला पूर्व, मेची नदी पश्चिम, हिमालय भूभाग दक्षिण र भारतको सिमाना उत्तर यति चार किल्लाभित्रबाट प्राप्त फलाम, तामा र शीशाका खानीबाट पैसा, धातुका बर्तन र औजार बनाउने व्यवस्था भयो र डोली पैसालाई पछि–पछि व्यापारीहरूले भाँडाबर्तन तौलने कार्यमा समेत प्रयोग गर्ने गरेकाले स्थानीय भाषामा ढः ढेवा अर्थात ढक पैसा भन्ने गरियो।
यस स्थलमा मुख्यतः नेवार जातिको बसोवास छ। विसं २००० सम्ममा यहाँ शाक्य, बज्राचार्य, उदास, ताम्राकार, श्रेष्ठ, ढंगु, नौ, कौ आदि समुदायका करिब २०० घरपरिवारको बसोवास भइसकेको पाइन्छ। यसबेलासम्ममा टक्सारको भूगोलभित्र बजारी क्षेत्रबाट अलिकता बाहिर दक्षिण पूर्वतर्फ रैकर, गैरीगाउँ, कोटडाँडा, पैयापानी, पाहारपानी र पश्चिमतर्फ वितलब आदिको स्थापना भइसकेको देखिन्छ। वितलब र पैयापानीमा कार्की समुदाय, पाहारपानीमा नेवारको कुमाल समुदाय, रैकर र कोटडाँडामा श्रेष्ठ नेवारहरूको बाहुल्य छ। पृथ्वीनारायण शाहलाई किरातीहरूसँगको लडाइँमा मद्दत गरेको हुनाले गैरी गाउँका नेवारहरूलाई एउटा तलबार प्रदान गरी चौधरी पदबी दिइएको त्यस स्थलका रैथानेहरू बताउँछन्। टक्सारकै पश्चिमपट्टी दलित वर्ग दमाइ (दर्नाल, रणपहेली) जातिको एउटा टोल र उत्तरतिर केही घर कापालिक (कपाली)हरू छन् भने रैकर र पैँयापानी क्षेत्रमा केही परिवार विश्वकर्मा जातिको बसोबास पनि छ। पछिल्लो कालखण्डमा क्रमशः यहाँ भुजेल, राई, गुरुङ, मगर आदि विभिन्न जातजाति थपिँदै गए। यी सबै जातजातिको आ–आफ्नै जातीय पेशा व्यवसाय छ।
टक्सार बजार मूलतः नेवार समुदायको बस्ती हो। विसं १८७२ मा टक्सार खानीअड्डा स्थापना भएपछि पैसा टकमारी गर्न सरकारबाट नेपाल मण्डलबाट खासगरी पाटनबाट हस्तकलाविद टक्सारीहरू झिकाइएका थिए। यसरी पाटनबाट आउने पहिलो हस्तकलाविदको रूपमा ओकुबहालका देवदत्त शाक्य र उनका परिवार थिए। पाटनबाट आएका हस्तकलाविदहरूले डोली पैसा टकमारी गर्नुका साथै घरायसी प्रयोजनका भाँडाबर्तन डाडुपन्यु, कसौडी, अंखोरा, करुवा, खरकुँडा, थाल, डबका र पछि–पछि विभिन्न प्रकारका बुट्टे सामग्री पनि बनाउन शुरु गरियो। तत्पश्चात् विभिन्न कालखण्डमा टक्सारमा ती टक्सारीहरूका आफन्तलगायत कामको खोजीमा विभिन्न स्थानबाट अन्य नेवारहरू आउने क्रम निरन्तर हुन लाग्यो।
तीमध्ये कोही धातु व्यवसायमा लागे, कोहीले व्यापारलाई पेशा बनाएर कालीगढलाई आर्थिक सहयोग गरी उत्पादन वृद्धि गर्दै जिल्ला बाहिर पनि व्यापार गर्न थाले त कोही खेतीकिसानीमा लागे। विसं १९०० सम्ममा टक्सार एउटा व्यवस्थित बजार बन्न पुग्यो। यहाँका व्यापारीहरूले आफ्नो व्यापारिक सम्बन्ध भारतको सिलिगुडी, दार्जिलिङ, कलकत्ता र भुटानसम्म विस्तार गरिसकेका थिए।
सम्वत् २०१३ मा तत्कालीन राजा महेन्द्रको पूर्वी नेपालको भ्रमणमा टक्सारमा सवारी हुँदा यहाँको धातु व्यवसायबाट प्रसन्न भएर धातुलगायत अन्न विभिन्न हस्तकलाका सामग्री होजियारी, सिकर्मी, नकर्मी (फलामको काम), कपडा बुनाइ आदि समेतको तालिम सञ्चालन गर्ने गरी तत्कालीन सगरमाथा अञ्चलको घरेलु उद्योग अञ्चल कार्यालय स्थापना गरेका थिए। जसले गर्दा यहाँको औद्योगिक विकास र अन्य व्यापार व्यवसायले गर्दा जिल्लाभित्र तथा बाहिरको व्यापारिक र औद्योगिक केन्द्रको रूपमा विकसित भयो।
यहाँका व्यापारीहरूमध्ये देवबहादुर हलवाइको नाम प्रसिद्ध छ। उनको दोकानमा हाल ठूला शहरहरूमा खोलिएका व्यापारिक मल वा डिपार्टमेन्टल स्टोरमा झैं मनिहारी, लत्ताकपडा, धातुका सामग्री, आयुर्वेदिक औषधिमूलो, स्टेसनरी तथा विद्यार्थीका पुस्तकहरू आदि सबै कुरा किन्न पाइन्थ्यो। त्यसैले उक्त पसलको नाम ठूलो पसल र देवबहादुर हलवाईलगायत सबैलाई ठूलो पसले भनी चिनिन्छ। वरपरका गाउँबाट समेत यहाँ सामान किन्न र आर्थिक लेनदेन गर्न मानिसहरू आउँथे।
टक्सार बजारलाई मन्दिरै मन्दिरको बजार भने हुन्छ। व्यवस्थित बजारको रूपमा विकसित भएको टक्सारका आदिवासीले आफ्नो पुर्ख्यौली जातीय परम्परा, भाषा, धर्म, संस्कृति आदि प्रयोगमा ल्याउनुका अतिरिक्त यहाँ विभिन्न स्थानमा श्री विद्याधरी अजिमा, श्री भीमसेन मन्दिर, श्रीकृष्ण मन्दिर, श्री रणेश्वर शिवालय, श्रीराधाकृष्ण, हनुमान मन्दिर, श्री जयेश्वर महादेव, देउराली भगवती, कोट भगवती, श्री करुणामय मन्दिर, श्री शाक्यमुनि विहार, श्री उत्तराभिमुख गणेश आदि दर्जनौं देवदेवीका मठ मन्दिर, विहार र चैत्यहरू तथा धारा, पौवा, पाटी आदि निर्माण गरे। यहाँ भीमसेनको मन्दिर अगाडि रहेको ढलौटे घण्ट सम्वत् १८८७ मार्ग सुदी १५ मंगलबारको दिन सुब्बा कुलानन्द झाको पालामा साहेबसिंह प्रमुख भई बनाएको उल्लेख भएको हुँदा यही नै यहाँ निर्मित सबैभन्दा पहिलो मन्दिर देखिन्छ। यी मन्दिरमा गुठीहरू स्थापना गरी उनीहरूले अष्टमी व्रत, बशुन्धरा व्रत, भीमसेन जात्रा, मतया, कृष्णजात्रा, बुद्ध जयन्ती आदि धार्मिक तथा सांस्कृतिक पर्वहरू सञ्चालन गरे।
यहाँका बासिन्दाहरूले हालसम्म पनि पुर्ख्यौली थलो नेपाल मण्डलमा मान्ने गरेका छन्। सबैजसो जात्रामात्रा, चाडपर्वहरू मनाउने गरेका छन्। यी सब कुराले गर्दा यहाँ घुम्न आउने मानिसहरूले यस स्थललाई मिनी पाटन (सानो पाटन) उपनामले सम्बोधन गर्न रुचाए।
बौद्ध र हिन्दू धर्म मान्ने यहाँका बासिन्दाहरूमा धार्मिक सहिष्णुता रहेको कारण प्रत्येकले परस्परमा सम्मान गर्दै आ–आफ्नो जातीय परम्परा, धर्म, संस्कार पद्धतिअनुसार अनुशासनमा बस्दै आएका छन्। बाह्रै महिना कुनै न कुनै चाडपर्व हुने यस स्थलमा सबै धर्मावलम्बीहरूको उत्तिकै सम्मानजनक सहभागिता रहन्छ। यहाँ श्रावण शुक्लपक्ष पूर्णिमाको दिन निकालिने लाखे कोशी प्रदेशमै अति लोकप्रिय लाखे हो। यो लाखे श्रावण शुक्ल नवमीको दिन विसर्जन गरिन्छ। चार दशक अघिसम्म यहाँ कृष्णाष्टमीको दिन जागराम बस्ने र भीमसेन जात्रामा यहाँ धार्मिक नाटक प्रदर्शन गर्ने चलन थियो। जात्रामात्रामा र धार्मिक कार्यक्रमहरूमा दाफा भजन खुबै मच्चिने गर्थ्यो। गुँला पर्वभर श्री विद्याधरी अजिमा र श्री करुणामयको मन्दिरमा बिहान–बिहान दाफा भजन गर्ने तथा नासंगीति स्तोत्रपाठ गर्ने चलन एकदशक अघिसम्म सञ्चालनमा रह्यो। रामनवमीमा हनुमान मन्दिरमा हरेराम भजन गर्ने प्रचलन हराइ नै सक्यो। शिवरात्रिको समयमा रणेश्वर शिवालयमा गरिने भजन कीर्तनले भने हालसम्म येनकेन निरन्तरता पाएका छन्।
नेपालमा थेरबादी बौद्ध धर्म प्रचारप्रसारमा यस स्थलको भूमिका अत्यन्त ठूलो छ। राणाकालमा बौद्धहरू विरुद्ध उठाइएका कदमहरूको बावजुद यस स्थलबाट बौद्ध अनुशासक तथा उपासकहरूद्वारा देखाइएको दृढ संकल्पित योगदान अनुकरणीय छ। यहाँ नेपालमै सर्वप्रथम (विसं १९९३ मा) थेरवादी बौद्ध विहार श्री शाक्यमुनि विहारको स्थापना भएको छ। यो विहार स्थापनामा बौद्ध ऋषि महाप्रज्ञा र भिक्षु अमृतानन्दको अतुलनीय योगदान छ। भिक्षु महाप्रज्ञा चन्द्रशम्शेरबाट देश निकाला गरिएका भिक्षु भएकोले उनको विशेष खोजी भइरहेको अवस्थामा यहाँ विहार स्थापना गरी बौद्ध धर्म प्रचार गरेको र श्रवण गरेको अभियोगमा विहारका संस्थापक भिक्षु महाप्रज्ञा (बौद्ध ऋषि महाप्रज्ञा) र श्रामणेर अमृतानन्दलगायत दर्जनभन्दा बढी उपासक, उपासिकाहरूलाई पक्राउ गरी तत्कालीन भोजपुर माल अड्डामा ७ दिनसम्म थुनेर छाडिएको र भिक्षु महाप्रज्ञा र श्रामणेर अमृतानन्दलाई भने तीन महिनासम्म थुनामा राखी तत्कालीन प्रशासक बडाहाकिमले पछि धनकुटामा थुनेर त्यहाँबाट जोगवनी लगी देश कटाइएको थियो। नेपालका थेरवादी विहारहरूमध्ये सबैभन्दा धेरै (१४ जना) भिक्षु तथा अनागरिकाहरू उत्पादन गर्ने तथा नेपालमा सबैभन्दा पहिले बुद्ध जयन्ती मनाउने विहारको श्रेय पनि यही विहारलाई जान्छ।
टक्सार बजार धार्मिक, सांस्कृतिक, औद्योगिक, व्यापारिक दृष्टिकोणबाट मात्र महत्त्वपूर्ण नभई यो स्थल शैक्षिक र राजनीतिक दृष्टिले पनि ऐतिहासिक स्थल हो। विसं २००४–०५ मा भारतीय उपमहाद्वीपमा स्वतन्त्रता संग्रामको अभियान चलिरहेको बेला नेपालमा पनि त्यसको तातो हावा पस्यो। भारतको आन्दोलनमा सहभागी भई फर्केका र स्वदेशभित्रै आन्दोलित मनस्थिति बोकेका देशभक्तहरूले देशलाई निरंकुश पञ्जाबाट छुटकारा दिलाउन शिक्षा क्षेत्र नै सशक्त माध्यम ठहर्याए। परिणामतः मुलुकभर यत्रतत्र पब्लिक स्कूलहरू खोल्ने प्रयास भए।
टक्सारमा स्थानीय व्यक्तिहरूको सक्रियतामा अंग्रेजी स्कुल गणेश थानको पाटीमा सञ्चालन गरियो। यही सिलसिलामा स्वर्गीय दानबहादुर कार्की, जगदीश नेपाली, स्वर्गीय लालधन शाक्य, स्वर्गीय दानबहादुर शाक्य, स्वर्गीय खड्गबहादुर कार्की, स्वर्गीय पूर्णबहादुर तमोट, थीरबहादुर हलवाई, नरेन्द्रबहादुर कार्की र मीनबहादुर श्रेष्ठ प्रभृतिको सक्रियतामा सम्वत् २००५ मा टक्सारमा ‘श्री विद्याधरी मिडिल स्कुल’ नामाकरण गरी कक्षा ८ सम्मको अध्यापन शुरु गरियो। यो पुस्तकालयले शिक्षाप्रेमीहरूलाई एक ठाउँमा ल्याएर शिक्षा तथा साहित्यको विकासका साथै राजनीतिक जागरणमा पनि मलजल गरेको देखिन्छ।
यसैबेला नारदमुनि थुलुङ र इन्द्रप्रसाद श्रेष्ठले भोजपुरमा ‘उदय मिडिल स्कुल’ सञ्चालन गर्दै थिए। सदरमुकाममा एउटा हाइस्कुलको आवश्यकता महशुस गरी दुवै विद्यालयको सहमतिमा २० फागुन २००७ मा ‘विद्याधरी’ र ‘उदय’लाई गाभी ‘प्रजातन्त्र शिक्षा भवन’ नामक हाइस्कुल स्थापना गरियो।
पछि ७ असार २००८ मा यस विद्यालयको नाम परिवर्तन गरी विद्योदय हाइस्कुल राखियो। र, त्यसलाई टक्सार र भोजपुर दुवै ठाउँको बीचमा पर्ने कैलाशमाथि स्थापना गरियो। विद्याधरी मिडिल स्कुल भोजपुरको उदय मिडिल स्कुलसँग एकीकृत भई विद्योदय हाइस्कुल सञ्चालन भएपछि टक्सारमा पुनः २००९ सालमा महिला शैक्षिक अभियन्ता सुश्री शिलशोभा ताम्राकारको विशेष अगुवाइमा यशोधरा बालिका प्राइमरी स्कुल स्थापना भयो। यस विद्यालयमा उक्त समयदेखि स्तरोन्नति हुँदै हाल कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ। यो विद्यालयबाहेक यहाँ एउटा आधारभूत र चारवटा प्राथमिक तहका विद्यालयहरू सञ्चालनमा छन्।
टक्सार वितलबका रणध्वज कार्कीले लप्टन प्रभुनाथ कोइरालाबाट सम्वत् १९७७ मा पाखाबारी खरिद गरेर सल्लाको बिरुवा रोपी मनोरम बनाइएको बजारको बीचमा उत्तरतिर फैलिएको सल्लाघारीले टक्सार बजारलाई शोभा दिएको छ। यही सल्लाघारीको फेदमा तीनवटा धारा निर्माण भएका छन्। हरदम गलल्ल बगिरहने यी धाराका पानी अमृत समान सुस्वादु र स्वच्छ भएकोले धाराको नाम अमृत तीनधारा रहन गएको छ। मानव निर्मित तथा प्रकृतिप्रदत्त यी सल्लाघारी र तीनधाराको संरचनाले टक्सारवासीलाई जीवन प्रदान गर्दै आएको छ।
टक्सार बजारको पूर्वपट्टी एउटा पाखामा प्राकृतिक रूपमा ठडिएको एक विशाल शिला छ। यो शिलाको मध्यभागमा सानो मानिस छिर्न सकिने च्याप छ। यस च्यापबाट छिरेर गएपछि अगाडि एउटा ठूलो चौर भएको र त्यहाँ चमेरोको बास रहने गरेको अनुभवीहरूको कथन छ। यस शिलाको बाहिर अग्रभागमा स्थानीय हर्कराज शाक्यले २००० सालमा प्वाल खोपी सरस्वती र गणेशको मूर्ति स्थापना गरेका थिए। त्यसपछि श्रीपञ्चमीको दिन अक्षरारम्भ गर्नका लागि बालबालिकालाई त्यहाँ लगेर सरस्वतीलाई पूजा गरी सात गेडा अक्षता नचपाइकन निल्न लगाउने चलन प्रारम्भ भयो।
सरस्वतीलाई पूजा गर्ने ठाउँ भएकोले यसको नाम सरस्वती स्थान रहन गयो र यो शिलाको भित्र अवस्थित गुफालाई सरस्वती गुफा भन्न थालियो। सरस्वती पूजाको समयमा त्यहाँ पूजा गर्न आउने विद्यार्थी तथा अन्य युवा हातमा टर्च वा बत्ती बोकी शिलाको साँघुरो च्यापबाट छिरेर लगभग आधा घण्टादेखि एक घण्टापछि त्यसैको नजिक बायाँपट्टी रहेको अर्को च्यापबाट निस्कने गर्छन्। जानकारहरूको भनाइअनुसार पहिले–पहिले त्यहाँबाट भित्रभित्रै सुरुंगमार्गबाट हुँदै भोजपुरको सिद्धकाली मन्दिरसँगै रहेको अर्को गुफामा निस्कन सकिन्थ्यो। पछि १९९० सालको महाभूकम्पपछि सो सुरुङमार्ग ध्वस्त भएकाले यो किंवदन्तीमा सीमित रहन गएको छ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक र औद्योगिक सम्पन्नताको यस थलोको जीवन भने चार दशकदेखि कष्टकर बन्दै गएको छ। भोजपुरको गौरव र शानको रूपमा रहेको मूर्त अमूर्त सम्पदाहरूको संरक्षण संबर्द्धनमा सम्बन्धित निर्माता एवं संरक्षकहरू उदासिन देखिन्छन् भने सरकारी निकायको पनि दृष्टि पुगेको देखिँदैन।
एक दशकदेखि सडक यातायातले पहाडी जिल्ला भोजपुर र तराई एवं उपत्यका आउजाउ गर्नेलाई पानी पँधेरो जत्तिकै सुविधा दिएको छ। घर–घरमा सञ्चार सुविधा र विद्युत सेवाले मानिसहरूको जीवनस्तरमा आमुल परिवर्तन गरिदिएको छ। तर, टक्सारको भौतिक कायामा जीवनको अनुभूति हुन सकेको छैन। टक्सार बजारले स्थापना कालदेखि हालसम्मका २०० वर्ष अनैकौं उकाली ओराली पार गर्दै आएको छ। ०३४ सालवरपरसम्म भाषा, धर्म, संस्कृति, कला आदि हरेक दृष्टिबाट विकसित सुरम्य यो स्थल तत्पश्चात् ०३६ सालमा विमानसेवा चालू भएसंगै काठमाडौसँग सम्पर्कित हुन पुग्यो र अलिअलि गर्दै परिवर्तन हुँदै गयो।
एकातिर स्थानीय धातु व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थको अभाव, बाह्य क्षेत्रबाट आयातित वस्तुको दोहोरो ढुवानीले सामग्रीको मूल्य बढ्न गई बजारी प्रतिस्पर्धामा कठिनाइ, तेश्रो यातायात, सञ्चार तथा अन्य भौतिक विकासका साथसाथै मानिसहरूको आवश्यकतामा अभिवृद्धि हुँदै गएको, नवपिँढीका लागि रोजगारी, शिक्षा र अवसरको खोजी एवं स्वास्थ्य समस्यामा बाहिरै जानुपर्ने आदि विविध कारणबाट यस स्थलबाट मानिसहरूको जिल्ला बाहिर पलायन हुने क्रम सालाना वृद्धि भई हाल यो बस्ती रुग्ण अवस्थामा छ। स्याहार नपाए पुराना सामाजिक तथा धार्मिक संरचनाहरू विनासोन्मुख छन्। यस परिस्थितिले गर्दा हाल यो बस्तीको अस्तित्वमै खतरा उत्पन्न भएको छ।
त्यसैले यस बजारको इतिहास नै मेटिने अवस्थाप्रति सबैको ध्यानाकृष्ट गरी यस स्थानको पुनरुत्थान गर्ने उद्देश्यले यो बजार स्थापना भएको दुई सय वर्ष पुगेको अवसर पारी यस लेखका लेखकको अध्यक्षतामा मंसिर ०६८ मा एक द्विशतवार्षिक टक्सार महोत्सव आयोजक समिति २०७२ गठन गरिएको थियो। र, सोही समितिको आयोजनामा १–७ फागुन ०७२ मा सप्ताहव्यापी ऐतिहासिक द्विशतवार्षिक टक्सार महोत्सव सम्पन्न गरिएको छ। उक्त अवसरमा डोली पैसाको प्रतीक डोलीपैसा स्तम्भ र औद्योगिक विकासको प्रतीक विश्वकै सबभन्दा ठूलो (लगभग ७ फुट अग्लो, लगभग चारसय किलो तौलको) ढलौटे करुवाको महोत्सव स्मारक स्थापना गरिएको छ। यस महोत्सवले टक्सारको इतिहासलाई जीवन्त राख्ने र यसको भविष्यप्रति स्थानीय तथा सरोकारवालाहरूको ध्यानाकृष्ट गर्ने कुराप्रति आशावादी हुन सकिन्छ।