भक्तपुरको दत्तादत्र स्क्वायरमा रहेको पुजारी मठ विभिन्न आकर्षक काष्ठ कलाकृतिको लागि आकर्षक मानिन्छ । पुजारी मठमा रहेको एउटा महत्वपूर्ण कलाकृति हो विमान झ्याल । विमानको स्वरूपमा बनाइएको यस्तो झ्याललाई विमान झ्याल भनिएको पाइन्छ । झ्यालको मध्यभाग खुला छ । माथिल्लो भागमा ढोकाको माथिल्लो भागमा राखिनेस्वरूप बनाइएको छ ।
सो झ्यालमा दायाँबायाँ उडिरहेका अप्सराहरूको चित्र बनाइएको छ । किनारमा सर्प आकृति बनाइएको छ । झ्यालको दायाँबायाँ खम्बाहरू छन् । खम्बाहरूमा विभिन्न खाले सानासाना बुट्टाहरू कुँदिएका छन् । यी खम्बाहरूको दायाँबायाँ सानासाना जालीदार बुट्टाहरू बनाइएका छन् । उक्त जालीभित्रबाट बाहिर हेर्न सकिन्छ । यी जालीदार ठाउँहरूको दायाबायाँ सानासाना खम्बाहरू छन् । खम्बाहरूमा विभिन्न किसिमका बुट्टाहरू कुँदिएका छन् ।
यी खम्बाहरूको दायाँबायाँको माथिल्लो भागको कुनामा रुखका लहराहरू कुँदिएको छ भने यसपछि दायाँबायाँ नै जालीदार प्वालहरू छन् । यसको तल्लो भागमा रुखका लहराहरू छन् । किनारहरूमा टुँडाल आकृतिमा देव मूर्तिहरू बनाइएका छन । यी मूर्तिहरू स्थानक मुद्रामा रहेका छन् । अलंकृत मुकुटहरू लगाएका यी देवमूर्तिहरूको माथिल्लो भागमा सर्प आकृतिहरू छन् र यीभन्दा माथिल्लो भागमा रुखका लहराहरू बनाइएको छ ।
झ्यालको तल्लो भागको किनारमा सानासाना बुट्टाहरू कुँदिएको पाइन्छ । यी बुट्टाहरूको माथिल्लो भागमा १६ वटा मकराकृतिहरू लहरासँग बनाइएको छ । तीमध्ये ४ वटा मकराकृतिहरू खसिसकेका छन् । दुवै कुनामा ठूलाठूला मकराकृतिहरू छन् । यी मकराकृतिहरूको माथिल्लो भागमा विभिन्न किसिमका आकृतिहरू कुँदिएका छन् । मकराकृतिभन्दा माथिल्लो भागमा राखिएका आकृतिहरू क्रमशः बायाँ कुनाबाट उडिरहेको पुरुष आकृति, उडिराखेको सिंह आकृति उडिरहेको सिंह आकृति र पुरुष आकृति, यी मूर्तिहरूमध्ये खुल्ला भागमा जालीदार सानासाना झ्यालहरूबनाइएको छ ।
झ्यालको सबैभन्दा माथिल्लो भागको किनारको तल्लो भागमा ५० वटा सानासाना सिंह आकृतिहरू बनाइएका छन् । यो झ्यालमा बसेर बाहिरतिर हेर्न सकिन्छ । कलाकारिताको हिसाबले यो झ्याल अति महत्वपूर्ण देखिन्छ । झ्याल विभिन्न ठाउँमा जोडेर बनाइएको छ । यो झ्यालको समय १८औं १९औं शताब्दी मान्न सकिन्छ । यस किसिमका झ्यालहरू धेरै मुखहरू राखेर पनि बनाउने परम्परा रहेको पाइन्छ ।