काठमाडौं । जननी देवीको रूपमा मातृदेवीको पूजा परम्परा प्रागऐतिहासिक कालदेखि सिन्धु सभ्यता र वैदिक कालमा पनि मातृदेवीको पूजा उपासना पछि गएर मातृका पूजा परम्पराबाट नै सप्तमातृका र अष्ट मातृकाको पूजा गर्ने परम्परा चल्यो । नेपालमा समेत ऐतिहासिक कालको प्रारम्भदेखि नै मातृका पूजाको परम्परा चलेको विश्वास गरिन्छ । नेपालमा पाइएका प्राचीनतम मूर्तिहरूमध्येको पाटन हौंगलबहालको मातृका मूर्ति पनि एक हो ।
यो मूर्ति प्रलम्बपादासनमा बसेकी, सिंगारिएको गद्दि जस्तो आसनमा दुवै खुट्टा तल झारी घुँडा फारेर बसेको यस मूर्तिले पैतालाको औलापट्टिको भागले भुइँमा टेकी कुर्कुचाचाहिँ आसनको तल्लो भागमा अड्याएर राखेको देखिन्छ । कुम पछाडि कपडा पट्टयाएको जस्तो स्वरूप देखिन्छ । देवीको कम्मरको माथिको भाग नग्न रहेको र शरीरको तल्लो भागमा पारदर्शी अधोवस्त्र लगाएको देखिन्छ । देवीले दुवै खुट्टामा कल्ली, कानमा ठूलाठूला कर्णकुण्डल, घाँटीमा माला लगाएको देखिन्छ ।
दुई खुट्टाको बीचमा धोतीलाई मुजापारी पट्याइएकोजस्तो बुट्टा देखिन्छ । लामा कान, छोटो घाँटी, लामा लामा र मोटो हात, सानो शरीर, ससाना तथा नग्न स्तन, गढेको नाभि, लामा एवं हृष्टपुष्ट मांसपेशीयुक्त खुट्टा भएको यो मूर्ति मथुरा कलाशैलीबाट प्रभावित भएकोदेखिन्छ । तर यो मूर्तिको दायाँ हातकोहत्केला केही कोप्रो पारेर वरदमुद्रामा देखाइनाले नेपाली शैलीको स्पष्ट झल्को पाइन्छ । यस मूर्तिको बायाँ हातमा केही वस्तु (विल्वफल) समातेको जस्तो देखिन्छ, जुन वस्तुलाई वाङ्देलले माछा मानेका छन् । अस्पष्ट आकृति भएकोले यही भन्न सक्ने अवस्थामा भने छैन । यस मूर्तिलाई वाङ्देलले इस्वीको दोस्रो शताब्दीको मानेका छन् ।