काठमाडौँ ।जमिनमुनिको पानी अत्यधिक प्रयोगका कारण काठमाडौं उपत्यकामा भूमिगत पानीको सतह वार्षिक एक मिटर तल झरिरहेको छ । अव्यवस्थित ढंगमा हुने डिप बोरिङ र बस्ती विस्तारका कारण ‘रिफिल’ क्षेत्र अभावले बर्सेनि भूमिगत पानीको सतह झरिरहेको जलविज्ञहरूले बताएका छन् ।
जलविद् मधुकर उपाध्याका अनुसार यो समस्या काठमाडौंको रिङरोडभित्र अझै बढी चर्कँदो छ । कतिपय ठाउँमा निकै गहिरो इनार खन्दा वा डिप बोरिङ गर्दा पनि पानी नआउने अवस्था छ । ‘हरेक वर्ष भूमिगत पानीको सहत धसिँदै छ, तर सरकारी निकायले यो समस्याबारे कुनै अध्ययन गर्दैन, गरे पनि प्रतिवेदन लुकाउँछ । केही समयअघि गरिएको एक अध्ययनले उपत्यकाकाे अधिकांश ठाउँमा पानीको सतह वार्षिक रूपमा एक मिटर तल झरिरहेको जनाएको थियो,’ उनले भने, ‘उपत्यकामा ठाउँअनुसार पानीको सहत फरक–फरक छ ।’
उपत्यकाका खोला–किनारका क्षेत्रमा समेत २०–२५ फिट गहिरो खनेपछि मात्रै पानी आउँछ । माथिल्लो सतहमा पानी भेट्न मुस्किल हुन थालेपछि अधिकांश ठाउँमा डिप बोरिङ गर्न थालिएको छ । पानीको सतह घटेपछि पुराना इनार सुक्ने क्रम बढेको छ । जलविद् उपाध्यायले जमिनमुनिको पानी तान्नेबारे सरकारी निकायले अनुगमन र कडाइ गर्न आवश्यक रहेको बताए । यसोगर्दा जथाभावी पानीको दोहन रोकिने उनको भनाइ छ ।
उपत्यकामा बनिरहेका अग्ला भवनले जमिनमुनिको पानी अत्यधिक तान्ने र विनाअनुमति डिप बोरिङ गरिरहेका छन् । काठमाडौंमा चार सय ५० भन्दा बढी ठूला भवन (अस्पताल, अपार्टमेन्ट, सरकारी कार्यालय, होटेल)ले अनुमति नलिई डिप बोरिङ चलाउँदै आएको खानेपानी मन्त्रालयको तथ्यांक छ ।
विनाअनुमति जथाभावी डिप बोरिङ र फाउन्डेसनको काम गर्दा भूमिगत पानीको सतह घट्ने र जमिनमै असर पर्ने विज्ञहरूको भनाइ छ । कतिपयले एउटा डिप बोरिङको अनुमति लिएर सातवटासम्म चलाएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)ले जनाएको छ । खानेपानी मन्त्रालयको तथ्यांकअनुसार होटेल, अस्पताल, हाउजिङ, सरकारी र निजी आवास क्षेत्रलगायतले दैनिक ६० करोड लिटर भूमिगत पानी तान्छन् ।
बर्खाअघिसम्म केयुकेएलले उपत्यकामा दैनिक १८ करोड लिटर मेलम्ची र आसपासका मुहानको १२ करोड लिटर पानी वितरण गरिररहेको थियो । तर, हाल मेलम्चीको पानी बन्द छ । मेलम्ची बन्द भएपछि भूमिगत पानीको दोहन झनै बढेको छ । उपत्यकामा खोला, कुवा र मूलको भन्दा बढी पानी डिप बोरिङ र इनारबाट तान्ने गरिन्छ । पिउनका लागि केयुकेएलले तालिकाअनुसार उपत्यकामा पानी वितरण गर्ने गरे पनि अन्य प्रयोजनमा भने भूमिगत पानीकै भर छ । उपत्यकाका विभिन्न ठाउँमा पानीको सतह मापन गर्न ‘ग्राउन्ड वाटर मनिटरिङ वेल’ बनाउने बोर्डको योजना भए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।