काठमाडौँ । मध्यकालमा तीनैवटा राज्यहरुमा अलग अलग राजदरबारहरु निर्माण भएका थिए । यी तीनैवटा राजदरबारहरु विशेष गरी शहरको बीच भागमा निर्माण गरिएका छन् । यी दरबारहरु एकदमै धेरै ठूलो ठाउँ ओगटेर बनेको देखिन्छ । साधारणतया दरबार मानिस बस्नेभन्दा धेरै ठूलो र कलात्मक रुपमा बनाइएको हुन्छ । सुरक्षाको दृष्टिकोणले पनि यस्ता दरबारहरु अग्लो ठाउँमा निर्माण भएको देखिन्छ । मध्यकालीन राजाहरुले आफ्नो आवश्यकतालाई दरबारभित्र नै पूर्ति गर्ने हिसाबले दरबारहरुको निर्माण गरेको देखिन्छ । दरबारभित्र नै आफ्नो इष्ट देवता, आगमछें मन्दिर, सुन्दर बगैंचा, आकर्षक एंवम् कलात्मक मूर्तिहरु, पूजाआजा, धार्मिक कार्य गर्नको लागि डबली, शस्त्रअस्त्र राख्ने ठाउँ, स्नान गर्ने ठाउँ आदिलाई ज्यादै आकर्षक ढंगले निर्माण गरिएको पाइन्छ ।
यसरी दरबारहरुलाई आकर्षक बनाउनमा केवल एकजना राजाको मात्र हात नभई विभिन्न राजाहरुको कला तथा संस्कृतितर्फको चाखले गर्दा नै सम्भव भएको मान्नुपर्ने हुन्छ । तत्कालिन राजाहरुले बनाएर गएका कला, वास्तुकलाले गर्दा नै विशेष गरि हनुमानढोका दरबारक्षेत्र एक खुल्ला संग्रहालयको रुपमा रहेको छ भन्नुमा अत्युक्ति हुने छैन । हनुमानढोका राजदरबार परिसरमा विभिन्न मन्दिर, मूर्तिहरु लगायत थुप्रै चोकहरु रहेका छन् । तत्कालीन समयमा यो दरबारभित्र ३५ वटा चोकहरु थिए ।
हाल नेपाल बैंक रहेको ठाउँसम्म पनि हनुमानढोका दरबारको इलाका थियो भन्ने कुरा ८५ वर्षीय स्थानीय बासिन्दा कान्छा डंगोलले केही समयअघि बताएका थिए । वि. सं. १९९० सालको महाभूकम्पमा परेर यहाँको थुप्रै भाग भत्किन गयो भने जुद्घसडक बनाउने सिलसिलामा यहाँको थुप्रै भाग लिइयो । जसको असर यहाँको चोकहरुमा पनि पर्यो । फलस्वरुप अहिले जम्मा १२ वटा चोक मात्र अस्तित्वमा रहेका छन् । ती चोकहरुमा नासल चोक, मूल चोक, त्रिशुल चोक, मोहनकाली चोक, सुन्दरी चोक, दाख चोक, न्हुलछे चोक, बसन्तपुर चोक, लामचोक, कन्हेहोल चोक आदि रहेका छन् ।
ती चोकहरुको पनि आफ्नो छुट्टै मौलिक विशेषता रहेको छ । यी चोकहरुमध्ये केवल चारवटा चोकहरु मात्र सर्वसाधारणका लागि प्रवेश गराइन्छ । ती चोकहरुमा नासल चोक, लोंह चोक अर्थात् बसन्तपुर चोक, मोहनचोक र सुन्दरी चोक पर्दछन् । मोहनचोक र सुन्दरीचोकलाई भने सन् २०१२ जनवरी १ तारिखका दिनदेखि सबैका लागि खुल्ला गरिएको थियो ।