काठमाडौँ उपत्यकामा पाइपमार्फत पानी वितरण प्रणालीको विकास हुनुभन्दा अघिसम्म ढुङ्गेधारा (हिटी) र इनारको पानीले नै जीवनयापन हुँदै आएको जगजाहेर छ । सांस्कृतिक एवं पुरातात्त्विक महत्व बोकेका ढुङ्गेधाराले उपत्यकावासीको पानीको आवश्यकता पूरा गर्नुका साथै सहरी सभ्यता र सौन्दर्यीकरणमा समेत सघाउ पुर्याएका थिए । त्यसो त ढुङ्गेधारामा विभिन्न देवीदेवता तथा नागका मूर्तिहरू कुँदिएको पाउनुलाई धार्मिक सहिष्णुताको द्योतक भएको संस्कृतिविद्को अभिमत पनि छ । बालाजुका बाइस धारा र ललितपुरको कुम्भेश्वर स्नानको धार्मिक महत्व बेग्लै छ ।
कुम्भेश्वरका धारामा आउने पानीको मुहान पवित्रस्थल गोसाइँकुण्ड हो भन्ने किंवदन्ती छ । बाइस धारामा त हिउँदको समयमा पानी आउन छोडिसकेको छ भने कुम्भेश्वरका धारामा पनि पहिलेको तुलनामा पानी आधा घटिसकेको छ । सुनधारा जस्तो ऐतिहासिक महत्व बोकेको धारा सुकेको पनि दुई दशकभन्दा बढी भयो । यहाँका नदीनालाको दुरवस्था दिनानुदिन कहालीलाग्दो बन्दै गरेको छर्लङ्ग छ । यसरी उपत्यकाको नदी सभ्यता र ढुङ्गेधारा संस्कृति एकसाथ सङ्कटमा पर्नु गम्भीर चिन्ताको विषय भएको छ ।
उपत्यकाका तीन जिल्लामा केही वर्ष अघिसम्म ३५० वटा ढुङ्गेधारा भएको तथ्य सार्वजनिक भएको थियो । पछिल्लो सर्वेक्षणले तीमध्ये धेरै ढुङ्गेधारा मासिएर यो सङ्ख्या २९० मा झरेको देखिएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको केही समयअघिको अध्ययन अनुसार काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्र १७९ ढुङ्गेधारा भएको तथ्याङ्क सार्वजनिक भएको थियो । यीमध्ये पनि धेरै ढुङ्गेधारा लोप भएर १५४ वटा मात्र फेला परेको पछिल्लो सर्वेक्षण सार्वजनिक हुनुले थप चिन्ताको विषय बनेको हो । यीमध्ये पनि ६१ वटामा मात्र पानी आउने जनाइएको छ । भर्खरै काठमाडौँ महानगरपालिकाको आयोजनामा ‘अलान फाउन्डेसन’ द्वारा गरिएको सर्वेक्षण प्रतिवेदनलाई आधार मान्दा अबको केही वर्षमा उपत्यकामा पनि ढुङ्गेधारा थिए र ? भन्ने अवस्था नआउला भन्न सकिँदैन ।
उपत्यकाका तीनै जिल्लाका अधिकांश ढुङ्गेधाराको अवस्था उस्तै छ । ललितपुर महानगरपालिका क्षेत्रभित्र ८० वटा ढुङ्गेधारा रहेकोमा आठ वटा लोप भइसकेको खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्कमा उल्लेख छ । यीमध्ये पनि ३० वटामा मात्र पानी आउने गरेको छ । भक्तपुरमा ढुङ्गेधाराको सङ्ख्या ९१ भएकोमा ७३ वटा त सुकिसकेका छन् । ढुङ्गेधाराको अस्तित्व कायम राख्न काठमाडौँ र ललितपुर महानगरपालिकाले अभियान नै सञ्चालन गर्दै आएका छन् ।
काठमाडौँ महानगरको ‘स्वर्णिम योजना’ लाई नगर गौरवको योजनाका रूपमा अघि सारिएको जानकारीमा आएको छ । यसले ढुङ्गेधाराको सरसफाइ तथा पानीको स्रोत पत्ता लगाउने कार्य गर्दै आएको बताइएको छ । ललितपुर महानगरपालिकाले पनि नगर क्षेत्रका ढुङ्गेधारा तथा पोखरीको संरक्षणका लागि विशेष कार्ययोजना नै बनाएर ढुङ्गेधाराको अस्तित्व कायम राख्न दीर्घकालीन योजना अगाडि सारेको छ । पानी पुनर्भरण गर्ने हिसाबले राजकुलो र पोखरीसहितको कार्ययोजना महानगरले अघि बढाए पनि प्रभावकारी हुन सकेको छैन । भक्तपुर नगरपालिकाले पनि नगरका सबै ढुङ्गेधाराको नियमित सरसफाइ गर्नुका साथै पानी नआउने धारामा खानेपानी वितरण प्रणालीको पाइपमार्फतसमेत पानी झार्ने गरेको स्थानीयको भनाइ छ ।
बढ्दो सहरीकरणका कारण उपत्यकाको पानी सङ्कटले दिनानुदिन विकराल रूप लिँदै छ । दैनिक ४३ करोड लिटर पानी आवश्यक भएको उपत्यकामा मुस्किलले दस करोड लिटरको हाराहारीमा मात्र आपूर्ति हुँदै आएको तथ्यले जटिलता स्पष्ट गर्छ । राज्यको ठुलो लगानी भएको मेलम्ची खानेपानी आयोजनाको पानी आसलाग्दो हुँदाहुँदै पनि भरपर्दो हुन सकिरहेको छैन । मेलम्ची आयोजना नियमित भएको अवस्थामा दैनिक १७ करोड लिटर पानी थप हुँदासमेत माग अनुसारको आपूर्ति नहुने देखिन्छ । यहाँका ढुङ्गेधारा जोगाउन सकिएको खण्डमा ठुलो भरथेग हुने आकलन गरिएकै कारण सम्बन्धित निकाय एवं स्थानीय तहबाट संरक्षण हेतु केही आसलाग्दा अभियान सार्वजनिक हुनुले स्थानीयमा उत्साह जागृत भएको अनुभव हुन्छ ।
उपत्यकाका नदीनाला प्रदूषणग्रस्त भएका कारण नदी संस्कृति लोप भइसकेको यथार्थ जगजाहेर छ । ढुङ्गेधारा, पोखरी एवं राजकुलो जस्ता परम्परालाई संरक्षण गर्न सके ठुलो राहत पुग्ने आकलन गरिएको छ । नब्बे सालको भूकम्पले समेत असर नगरेका ढुङ्गेधारा ठुला घर निर्माण र वनजङ्गलको विनाशका कारण लोप हुँदै गएका वातावरणविद्को बुझाइ छ । पानीको दिगो स्रोतका साथै उपत्यकाको सभ्यता र संस्कृतिको संरक्षण खातिर ढुङ्गेधारा जोगाउन सम्बन्धित निकायले उपयुक्त उपाय अवलम्बन गर्न कत्ति पनि ढिला गर्नु हुँदैन ।