विवाहको प्रचलन प्राणीहरूमध्ये मानिसमा मात्रै छ । यो प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ ।
हिन्दू समाजमा विवाहको परम्परा बसाल्ने श्रेय उद्दालकपुत्र श्वेतकेतुलाई दिइन्छ । उनले थिति बसाल्नुअघि विवाहको चलन थिएन । महिला र पुरुष केही समयको सम्झौता गरेर बस्दथे । सम्झौतामा यतिवटा सन्तान जन्मिउन्जेल सँगै बस्ने, त्यसपछि स्वतन्त्र हुने, अन्य महिला वा पुरुषसँग शारीरिक सम्बन्ध राख्ने वा नराख्नेजस्ता विविध विषयमा मौखिक समझदारी हुन्थ्यो । विवाहका बखत बेहुलालाई बेहुलीले सातवटा प्रतिज्ञा गराउँदी रहिछन्, त्यति बेलाको संवादको नेपाली रूपान्तरण यस्तो हुने रहेछ ः
(१) बेहुली — ‘तीर्थ-व्रत र दानधर्ममा मलाई साथै लैजान्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’
बेहुला — ‘म तिमीलाई साथमै लैजान्छु ।’
(२) बेहुली — ‘मेरा मातापितालाई आफ्नै मातापिता सरह सम्मान गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’
बेहुला — ‘म सम्मान गर्नेछु ।’
(३) बेहुली — ‘घरका सम्पूणर् आवश्यकताहरू पूरा गर्न सक्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’
बेहुला — ‘म पूरा गर्नेछु ।’
(४) बेहुली — ‘म सँग सल्लाह गरेर आर्थिक/घरायसी कारोवार गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’
बेहुला — ‘म सल्लाह गर्नेछु ।’
(५) बेहुली — ‘तिम्रा र मेरा साथीहरूका अगाडि मेरो अपमान गर्दैनौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’
बेहुला — ‘म अपमान गर्दिनँ ।’
(६) बेहुली — ‘बुढी हुँदा पनि मेरो हेरचाह/भरणपोषण गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’
बेहुला — ‘म हेरचाह र भरणपोषण गर्नेछु ।’
(७) बेहुली —‘परस्त्रीलाई मातासमान दृष्टि राख्ने वाचा गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’
बेहुला—‘म परस्त्रीलाई मातासमान मान्नेछु ।’
संस्कृत भाषामा पुरोहितले पढिदिने र नेपालीमा अनुवाद नहुनाले त्यति बेला के भनिएको हुन्छ भन्ने कुरा बेहुला-बेहुलीले बुझ्दैनन् । फुर्सद मै बुझ्ने हो भने पनि पारिवारिक सौहार्द्रता बढ्ने थियो कि !