

काठमाडौं । झन्डै एक हप्तादेखि खुल्न नसकेको काठमाडौँको आकाश आज पनि खुल्ने सम्भावना कम देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना देखिएको छ।
विभागले दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।
काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । “काठमाडौंमा आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा वर्षाको सम्भावना छ,” मौसमविद् गोविन्द झाले भने, “ठूलो वर्षा नभए पनि हल्का वर्षाको सम्भावना छ । काठमाडौंका सबै स्थानमा वर्षा नभए पनि केही ठाउँमा वर्षा हुनेछ ।”
प्रि–मनसुनमा स्थानीय वायु सक्रिय भएर वर्षा हुने सम्भावना उच्च हुने र यसलाई सामान्य मानिने उनको भनाइ छ । अपराह्नपछि प्रि–मनसुनमा वर्षा हुनुलाई सामान्य मान्नुपर्ने उनी बताउँछन् ।