

काठमाडौं । इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’ (उपवास) सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभरि उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो । इस्लाम परम्पराका चाडपर्व हिजरी (उर्दू) सम्वत्को पात्रोअनुसार निक्र्यौल गरी रोजना मनाउने परम्परा छ । यसअनुसार हिजो ‘शावान’ महिना सकिएर आज रमजान सुरु भएसँगै रोजा उपवास थालिएको हो । रमजान इस्लामिक परम्पराको हिजरी सम्वत् अनुसार नवौँ महिना हो ।
चन्द्रमाको गतिले निक्र्यौल गरिने यो पर्वबारे नेपालका इस्लाम धर्मगुरुहरूले रमजान आजदेखि सुरु हुने ऐलान (सार्वजनिक) गरेपछि उपवास थालिएको यहाँका इस्लाम धर्मावलम्बीको भनाइ छ । हिजो साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्म गुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यो वर्षको रमजान आजदेखि सुरु हुने बताएका थिए । इस्लाम परम्परामा अत्यन्त पवित्र मानिएको रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ एक महिनासम्म रोजा गर्ने परम्परा छ । भूगोलका विभिन्न खण्डमा ग्रहन क्षेत्रको गतिले समयमा पार्ने फरकफरक प्रभावअनुसार ठाउँअनुसार रमजान अघिपछि पर्ने गरेको छ ।
नेपाल र भारतको हकमा ‘बुखारे शरिफ’ (भारतको दिल्लीस्थित साँस्कृतिक परम्पराको निर्णय दिने अधिकार सम्पन्न इस्लाम परम्पराको धार्मिक निकाय) को निर्णयअनुसार पर्व निर्णय गरिँदै आइएकाले गएराति चन्द्रमा देखिएपछि आज रोजा सुरु गरिएको हो । नेपाल र भारतका अधिकांश ठाउँमा ‘बुखारे शरिफ’ को निर्णयअनुसार आज रोजा सुरु भएको जिल्लाको जलेश्वरस्थित दारुल उलुम कादरिय रसिदिया मदर्साले जनाएको छ । रमजान महिना इस्लाम परम्परामा अत्यन्त पवित्र मानिन्छ । मजान महिनामा पवित्र धर्मग्रन्थ ‘कुरान’ पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ ।
यस महिनामा गरिने व्रत, उपवास (रोजा) अत्यन्त पूण्यदायक हुने इस्लाम मान्यता छ । बाल, वृद्ध, अशक्त बिरामीबाहेक सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ । बिहान सूर्योदयको एकघडी अगाडिदेखि सूर्यास्तको एक घडीपछिसम्म अन्न, पानी केही नखाइ दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ । एकमहिने रोजा सम्पन्न भएसँगै हिजरी सम्वत्को ‘सव्वाल’ महिना सुरु हुने र त्यसै दिन ईद–उल–फित्र पर्व मनाउने इस्लाम परम्परा छ । यो पर्व इस्लाम परम्परामा मुख्य पर्व मानिन्छ ।