काठमाडौं खबर मंसिर ३०, २०८१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ । योसँगै सुदूरपश्चिम रोयल्स एनपिएलको ‘प्लेअफ’ चरणमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएको एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो ।
पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले २१ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३६ रन बनाएका हुन् । त्यस्तै, रेमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए । पोखराका लागि माइकल लिस्कले पाँच, सागर ढकाल र दिलीप नाथले समान एक/एक रन जोडे ।
यो खेलमा पोखराले अतिरिक्त १५ रन पाएको छ । बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजनले सर्वाधिक पाँच विकेट लिए । हरमित सिंहले तीन र सैफ जैबले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो ।
योसँगै सुदूरपश्चिम जारी एनपीएलको सिजनमा प्लेअपमा पुग्ने दोस्रो टोली बनेको हो । यसअघि नै जनकपुर बोल्ट्सले प्लेअप यात्रा तय गरिसकेको छ । अब प्लेअपमा पुग्ने दुई टोलीको टुंगो भने भोलिको खेलबाट लाग्ने छ । आजकै खेलमा विराटनगर किंग्समाथि एक विकेटको रोमाञ्चक जित हात पारेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ । आजको खेलमा काठमाडौंले विराटनगरसँग पराजित भएको भए आज नै प्लेअपमा चितवन र कर्णालीको यात्रा टुंगो लाग्ने गर्दथ्यो ।
भोलि कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ । काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।