काठमाडौं खबर अशोज १५, २०८१
काठमाडौँ । पूर्वबाट फेरि पानी पर्ने हावा नेपाल भित्रिएको मौसम विभागले जनाएको छ । विभागका मौसमविद्हरूले आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।
मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छभने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।” यो असर भोलि र पर्सिसम्मै रहने जनाइएको छ ।
असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ ।