काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संस्थापक महामन्त्री तथा प्रवक्ताको भूमिकामा रहेका डा. मुकुल ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता, केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा केन्द्रीय समितिले यो कारबाही गरेको पार्टीले जनाएको छ । ढकालविरुद्ध आफूले तयार पारेको प्रतिवेदन पार्टीलाई बुझाउनुअघि मिडियामा प्रदान गरेको, पार्टीको बैठकमा अमर्यादित तवरले प्रस्तुत भएको र पार्टी सभापतिविरुद्ध बोलेको लगायतका आरोप लगाइएको छ ।
कुनै पार्टीले आफ्ना पदाधिकारी तथा सदस्यलाई निष्काशन गर्नु कुनै ठुलो विषय होइन तर रास्वपाको यो निर्णयले भने राष्ट्रिय राजनीतिमै एउटा डिस्कोर्स खडा गर्ने सम्भावना छ ।
प्रश्न उठ्छ, के मुकुल ढकालले गरेका कार्यहरू उनको राजनीतिक जीवनलाई नै समाप्त पार्नेगरी यसरी निष्काशन गर्नैपर्ने खालका थिए त ? अन्य पार्टीका महामन्त्रीले यस्तै गल्ती गरे के यस्तै कारबाही गरिन्थ्यो त ? अझ महत्वपूर्ण कुराचाहिँ के हो भने आज मुकुल ढकालको हालत भोलि स्वर्णिम वाग्ले, डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटीलगायतको नहोला त ?
यी कुनै पनि प्रश्नको उत्तर दिन सायद रास्वपा र यसको केन्द्रीय समिति तयार छैन । अहिले महामन्त्री निष्काशनको सवालमा निरीह भएर समर्थन गरेतापनि राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेर आफ्नो भविष्य निर्माणको सपना देख्ने सबैमा भने यसले खतराको घण्टी बजाईदिएको छ । पार्टीभित्र सभापतिको देवत्वकरण गरेमात्रै पार्टीमा टिक्न सक्ने र अवसर पाउने अवस्था सिर्जना भएको छ, जुन लोकतान्त्रिक शासन व्यवस्था भएको सिंगो मुलुक र पार्टीको लागिसमेत लज्जाको विषय हो ।
ढकालले प्रतिवेदनमा र निष्काशन भएपछिको प्रतिक्रियामा पनि भनेका छन्, रास्वपा कुनै दल भएन, रवि लामिछानेको क्लबजस्तो भयो । महामन्त्रीलाई कारबाही गर्ने क्रममा बसेको केन्द्रीय समिति र पदाधिकारी बैठकको निरीह तालीले ढकालको भनाइलाई धेरै हदसम्म पुष्टि गरेको छ ।
मिडिया क्षेत्रमा रहँदा गरेका केही कार्यबाट नेपाली जनतामा रवि लामिछानेप्रति तीव्र महत्वाकांक्षा जाग्न थाल्यो । रविले राजनीतिमा आउनेबारेमा सायद सोचेकै थिएनन् होला, जनताले हेर्न चाहेको प्रधानमन्त्री र गृहमन्त्री भनेर रविको फोटोले सामाजिक सञ्जाल रङ्ग्याईसकेका थिए । गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाटै स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले निर्वाचन जितेपछि झसङ्ग भएर राजनीतिमा दौडिएका रविले जनताको भावनालाई च्याप्प समाए र फुत्कनै नदिई निर्वाचन परिणामलाई केही हदसम्म आफ्नो पोल्टामा पार्न सफल भए । जनताले उनलाई देवत्वकरण गर्दै गए र अपेक्षा बढाउँदै गए ।
जनताले गरेको पूर्व अपेक्षा अनुसार नै उनले गृह मन्त्रालय पाए, स्वतन्त्र अधिकार पनि पाए तर माखो मार्न सकेनन् वा चाहेनन् । अझ भनौँ, चारैतिरबाट आफँै घोटालामा घेरिएका उनी घोटालाबाट माथि उठ्नै सकेनन् । निर्वाचनताका ३ बा लाई विरोध गरेर त्यतिसम्म परिणाम ल्याएका उनले हरेक दिन आफ्नो विगत बिर्सँदै गए र बाहरूको छत्रछायामै आफूलाई लुकाई बसे ।
पुराना दलहरूले देशलाई बन्धक बनाएर राखेको निष्कर्ष निकालेका शिक्षित नेपाली जनताको राष्ट्रिय स्वतन्त्र पार्टीसँग ठुलो अपेक्षा थियो । रास्वपाले यतिसम्मको स्पेस पाईसकेपछि जनअपेक्षित केही कार्य गर्न सकेको भए नयाँप्रतिको विश्वास बढ्दै जान्थ्यो र अरु केही नयाँ दलहरू स्थापित हुन्थ्यो । सायद दशकौँदेखि राज्यलाई बन्धक बनाई सत्तालाई नै अन्तिम सत्य मान्ने पुराना दलहरू विस्तारै विस्थापित हुँदै जान सक्थे । देशले नयाँ बाटो लिन सक्थ्यो र जनतामा नयाँ आशाको सञ्चार हुन सक्थ्यो ।
तर ती सबै सम्भावनालाई रास्वपाले एकैपटक तहसनहस पारिदिएको छ । यो सबैको जड सभापति रवि लामिछाने नै हुन् भन्दा फरक पर्दैन । सत्ताका लागि जुनसुकै सम्झौता गर्न तयार हुने स्वभाव, आफ्नै विभिन्न काण्डहरूको व्यवस्थापनमा सत्ताको दुरुपयोग गर्ने व्यवहार तथा जनअपेक्षित काममा निरीहताजस्ता कारणले २०७९ को निर्वाचनताका देखिएको जनलहर निकै घटिसकेको थियो । ३८ जिल्लाको भ्रमणपछि तयार पारेको महामन्त्री डा. ढकालको प्रतिवेदनको आशय पनि त्यति थियो, जुन वास्तविकताको धरातलमा थियो ।
तर जनताको देवत्वकरणका कारण कठोर तानाशाह बन्न पुगेका सभापति रवि लामिछानेले आफूलाई नराम्रो भनेको प्रतिवेदन स्वीकार गर्न चाहेनन् बरु आफ्नो विरोधीलाई राजनीतिबाटै हात धुन बाध्य गराए ।
रास्वपाको यो निर्णयबाट डा. मुकुल ढकालमात्रै हारेका छैनन्, बरु सिंगो मुलुक नै हारेको छ । नयाँ भनिएका र आशा गरिएकाहरूको निरंकुशता र तानाशाही शैलीलाई उदाङ्गो गराईदिएको छ । आम जनताको अपेक्षाले नै हार खाएको छ र नयाँ शक्तिको उदय हुने सम्भावनामा पनि प्रश्न चिह्न खडा भएको छ भने लोकतान्त्रिक मामिलामा बरु पुरानै दल ठिक हो कि भन्ने भाष्य सिर्जना हुने अवस्था आएको छ ।
काठमाडौं खबर असार २५, २०८१