काठमाडौं । सार्वजनिक जग्गा बाँड्ने काम बुढानीलकण्ठमा अझै रोकिएको छैन । फोहर व्यवस्थापनका लागि भन्दै बुढानीलकण्ठ वडा नं १३ ले गुपचुपरूपमा २ रोपनी सार्वजनिक जग्गा बाँडेको भेटिएको छ । वडा नं १३ चुनिखेलमा वातावरण सरोकार अभियान प्रालि भन्ने कम्पनीले च्यानेखोला करिडोरमा रहेको २ रोपनी जग्गामा टहरो बनाउन थालेपछि स्थानीय आक्रोशित भएका छन् ।
नियमितरूपमा प्रयोग हुने खेल मैदानसँगै रहेको २ रोपनी जग्गामा सो कम्पनीले ट्रस हालेर टहरो बनाइरहेको छ। यही सार्वजनिक जग्गासँगै रहेको निजी जग्गावालालेसमेत सो ठाउँमा फोहरसँग सम्बन्धित काम हुने थाहा भएकोले रोक्नका लागि वडा कार्यालयमा निवेदनसमेत होलेका छन् । च्यानेखोला करिडोर टुपेक टुकन्चा ट्वापमा रहेको यो सार्वजनिक जमिननसँगै खेल मैदान पनि रहेको छ । । खेलमैदानसँग टाँसिएको सार्वजनिक जग्गामा फोहरको काम भयो भने यसको प्रत्यक्ष असर खोला पारी रहेको दंगा प्रहरीको तालिम केन्द्रलाई पनि पर्ने देखिन्छ ।
निजी क्षेत्रको कम्पनीले फोहरका नाममा वडाध्यक्ष तथा नगरपालिकालाई प्रभावित पारेर सार्वजनिक जमिन हडपेको सम्भवतः बुढानीलकण्ठ नगरपालिकामा यो पहिलो घटना हुनसक्छ । सार्वजनिक जमिन संरक्षणको विषय देशैभरी उठिरहेको बेला बुढानीलकण्ठमा सार्वजनिक जमिनमा निजी कम्पनीले टहरो हालेको भन्दै स्थानीयवासीले काठमाडौँ खबरलाई फोन गरेका हुन् ।स्थानीयवासीले यसरी जग्गा बाँड्ने काम तथा बस्ती नजिक फोहर सेग्रिगेसनलगायत काम गर्न लागेकोप्रति बिरोध जनाएका छन् ।
वडा नं १३ का वडाध्यक्ष तथा वडा कार्यालयले निश्चित लाभ लिँदै यस्तो काम गर्न दिएको भन्दै स्थानीयले बिरोध जनाएका हुन् । नत्र वडाभित्रको सार्वजनिक जमिनमा यसरी टहरो बनाइरहँदा वडाध्यक्ष टीकानारायण श्रेष्ठलगायतका जनप्रतिनिधि चुपचाप बस्नु आफैमा ठूलो रकमको चलखेल हुनसक्ने उनीहरुले काठमाडौँ खबरलाई बताए । समाचारमा नाम उल्लेख गर्दा असुरक्षा हुने भन्दै उनीहरूले फोहर व्यवस्थापनको विषयसँग सम्बन्धित बनाएर सार्वजनिक जग्गालाई तैँचुप मैंचुप गरेर बाँडिनु गम्भीर त्रुटीमात्र नभै ठूलो चलखेलको विषय हुनसक्ने स्थानीय सरोकारवालाहरू बताउँछन् । यसरी सार्वजनिक जग्गा बाँड्ने हो भने जग्गा नै बाँकी नरहने उनीहरू बताउँछन् ।
१३ नं वडा कार्यालयले ‘सार्वजनिक जग्गा चाहियो सामाजिक सरोकारको काम गर्छौँ’ भनेर जग्गा हडप्नेहरूलाई प्रश्रय दिएको भन्दै अब कतिलाई जग्गा बाँड्ने ? भनेर प्रश्न उठेको छ । फोहर व्यवस्थापनका लागि नगरपालिकाले नै एक व्यवस्थित र दीर्घकालीन उपाय निकाल्न पर्ने भन्दै स्थानीयवासीले यसरी हरेक वडामा फोहरका नाममा सार्वजनिक जग्गा बाँडिने हो भने सार्वजनिक जग्गा बाँकी नरहने भन्दै सार्वजनिक जग्गा बचाउन आफूले आवाज उठाउन खोजेको बताएका छन् ।