काठमाडौँ । विगतका तीन प्रतिनिधिसभा निर्वाचनमा निरन्तर चर्चाको केन्द्रमा रहँदै आएको काठमाडौं क्षेत्र नम्बर ४ यसपटक पनि राजनीतिक बहसको शिखरमा पुगेको छ । यसअघि लगातार उम्मेद्वार रहँदै आएका गगन थापाले क्षेत्र परिवर्तन गरेपछि यहाँको चुनावी समीकरणलाई लिएर चासो र चर्चा झन् बढेको छ ।
कांग्रेस सभापति बनेपछि मधेश क्षेत्रमा पार्टीको जनमत विस्तार गर्ने रणनीतिअन्तर्गत थापाले क्षेत्र परिवर्तन गरेको विश्लेषण भइरहेका बेला काठमाडौं–४ मा कांग्रेसको विजय यात्राले निरन्तरता पाउने कि नपाउने भन्ने प्रश्न उठेको छ। यही सन्दर्भमा कांग्रेसले नयाँ अनुहारका रूपमा अघि सारेका छन्—सचिन तिमेल्सिना ।
रगतमा कांग्रेस, कर्ममा संगठन
काठमाडौंको ज्ञानेश्वरमा जन्मिएका सचिन तिमेल्सिना कांग्रेसी परिवारमा हुर्किएका युवा नेता हुन् । उनका पिता सुरेन्द्रकुमार तिमेल्सिना नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य र माता कल्पना अधिकारी क्षेत्रीय प्रतिनिधि रहेकी छन् ।
वि.सं. २०७४ मा गठन भएको ‘युथ कांग्रेस’ का संस्थापक सभापति बनेर उनले कांग्रेस विचारप्रति आस्थावान तर संगठनमा आबद्ध हुन नसकेका युवाहरूलाई जोड्ने अभियान चलाए । उनको सक्रियतामा देशका ४४ जिल्लामा युवालाई संगठनमा आवद्ध गराइएको दाबी छ ।
वि.सं. २०७० यता काठमाडौं–४ मा भएका प्रत्येक निर्वाचनमा उनले संगठनात्मक जिम्मेवारी सम्हाल्दै क्षेत्रका टोल–बस्ती र मतदातासँग प्रत्यक्ष सम्बन्ध विस्तार गरेका थिए । त्यसैले उम्मेद्वारका रूपमा उनको उपस्थितिलाई धेरैले स्वाभाविक मानिरहेका छन् ।
अध्ययन, नेतृत्व र राष्ट्रिय दृष्टिकोण
सूर्योदय स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेका तिमल्सेनाले त्रिभुवन विश्वविद्यालय बाट कन्फ्लिक्ट, पीस एण्ड डेभलपमेन्ट स्टडिजमा स्नातकोत्तर तथा हार्वर्ड केनेडी स्कूल बाट नेतृत्वसम्बन्धी एक्जिक्युटिभ कोर्स गरेका छन् ।
शैक्षिक पृष्ठभूमिले उनलाई नीति निर्माण, सुशासन र संगठन निर्माणका सैद्धान्तिक आधार दिएको उनी निकटस्थहरू बताउँछन्। परराष्ट्र नीति, भूराजनीतिक संवेदनशीलता र दक्षिण एसियाली सहकार्यबारे स्पष्ट दृष्टिकोण राख्दै आएका उनी युवालाई ‘नाराबाट नीतितर्फ’ लैजानुपर्नेमा जोड दिन्छन् ।
२२ वर्षमै राष्ट्रिय पहिचान
सन् २०१४ मा २२ वर्षको उमेरमा टुँडिखेलमा ३५ हजारभन्दा बढी सहभागी रहेको ‘मानव राष्ट्रिय झण्डा’ कार्यक्रमको नेतृत्व गरेर उनले राष्ट्रिय स्तरमा ध्यान खिचेका थिए । २०७२ सालको भूकम्पपछि सरकारको नेशनल भोलिन्टियरिङ कार्यक्रमको संयोजकका रूपमा पनि उनले काम गरे ।
क्रिकेट कमेन्टेटरका रूपमा युवा पुस्तामाझ परिचित उनले नीति बहस र आर्थिक सुधारसम्बन्धी ‘प्रोजेक्ट गभर्मेन्ट’ मा पनि काम गरेका थिए । नयाँ–पुराना पुस्ताबीचको बहसमा उनको धारणा स्पष्ट छ—लोकतन्त्रको जग बसाल्ने अग्रज पुस्ताको सम्मान गर्दै आर्थिक विकास र सुशासनमार्फत ‘वास्तविक नयाँ राजनीति’ स्थापित गर्नुपर्छ ।
विकासको स्पष्ट खाका
कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका गगन थापाको नेतृत्वमा देश समुन्नत बनाउने नीति खाका तयार पार्ने टोलीमा तिमेल्सिनाको सक्रिय भूमिका रहेको बताइन्छ । उनका अनुसार जलविद्युत र पर्यटनसँगै सूचना प्रविधि, आयुर्वेदिक जडिबुटी, उच्च मूल्यका बाली तथा योग–मेडिटेसन नेपालको सम्भावित आर्थिक आधार हुन सक्छन्। लगानीमैत्री कानुनी सुधार, स्टार्टअप युवालाई दुई वर्षसम्म कर छुट, सीपमूलक तालिम र रोजगारी सिर्जना उनका प्राथमिक एजेन्डा हुन् ।
काठमाडौं–४ का लागि उनले अव्यवस्थित शहरीकरण नियन्त्रण, प्रभावकारी ढल तथा फोहोर व्यवस्थापन, सार्वजनिक स्थल संरक्षण र सहभागितामूलक शासनलाई मुख्य प्राथमिकता बनाएका छन् ।
‘म्याजिक होइन, लजिक’
लोकप्रियतावादभन्दा तथ्य र अध्ययनमा आधारित राजनीति गर्ने उनको दाबी छ । विकास जादुको छडीले नभई दीर्घकालीन योजना, प्रतिबद्धता र व्यवस्थापनबाट सम्भव हुने उनको भनाइ छ। काठमाडौं–४ मा विगतमा भएका पूर्वाधार विकासलाई निरन्तरता दिँदै नयाँ आवश्यकता पहिचान गरेर अघि बढ्ने प्रतिबद्धतासहित उनी मतदातामाझ पुगेका छन् ।
युवाको जोश र अनुभवको सन्तुलन मिलाएर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अवसरयुक्त बनाउने लक्ष्यसहित सचिन तिमल्सेना अहिले काठमाडौं–४ को चुनावी प्रतिस्पर्धामा ‘सकारात्मक राजनीति’ को अनुहारका रूपमा प्रस्तुत भएका छन् ।

