काठमाडौं । निर्वाचनको सरगर्मी बढेसँगै काठमाडौं क्षेत्र नं. ४ को चुनावी मैदान यतिबेला निकै रोचक र पेचिलो बन्दै गएको छ । यसपटक यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुकार बमलाई उम्मेदवार बनाएको छ । तर, विगतमा अन्य क्षेत्रबाट पराजित भएर यस क्षेत्रमा आइपुगेका बमका लागि यो यात्रा सहज नहुने विश्लेषण गर्न थालिएको छ ।
पटक-पटकको क्षेत्र परिवर्तन र असफलताको छाया
पुकार बमका लागि चुनावी प्रतिस्पर्धा नयाँ होइन। २०७९ को आम निर्वाचनमा उनले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका थिए। ‘विवेकशील साझा’ बाट उदायका उनी ०७४ को चुनावमा काठमाडौं ८ मा विवेकशीलबाट चुनावमा उठेका थिए । ०७४ चुनावमा बमले ल्याएको मत उल्लेख्य थिएन भने ०७९ चुनावमा उनले क्षेत्र नं. १ मा प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गर्दा तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । यसपटक रास्वपाले उनलाई काठमाडौं ४ मा पठाएपछि स्थानीय मतदाताहरूमाझ एउटा प्रश्न उठेको छ— “आफ्नो पुरानो आधार इलाका छाडेर किन नयाँ क्षेत्र रोजियो ?” राजनीतिक विश्लेषकहरूका अनुसार, एक क्षेत्रमा पराजित भएपछि अर्को क्षेत्रमा जाँदा मतदाताको विश्वास जित्न “टुरिस्ट उम्मेदवार” र भाग्यवादीको ट्याग हटाउनु बमका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ ।
गगनको ‘लिगेसी’ र सचिनको उदय
काठमाडौं क्षेत्र नं. ४ नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले लगातार तीन पटक जितेको क्षेत्र हो । यसपटक गगन थापा सर्लाही-४ बाट निर्वाचन लड्ने भएपछि कांग्रेसले यस क्षेत्रमा उनकै विश्वासपात्र र युवा नेता सचिन तिमिल्सिनालाई मैदानमा उतारेको छ ।
गगन थापाले यस क्षेत्रमा बनाएको बलियो संगठन र युवा उमेरदेखि नै स्थानीय स्तरमा भिजेका तिमिल्सिनाका कारण कांग्रेसको पकड मजबुत देखिएको छ । अर्कोतर्फ, नेकपा एमालेले पनि यस क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाउँदै आएको छ, जसले गर्दा पुकार बमका लागि त्रिपक्षीय भिडन्तमा टिक्न निकै सकस हुने देखिन्छ ।
रास्वपाभित्रको असन्तुष्टि र संगठनको अभाव
पार्टीले बमलाई क्षेत्र नं. ४ को टिकट दिएपछि रास्वपाका स्थानीय कार्यकर्ताहरूमा केही असन्तुष्टि देखिएको चर्चा छ । क्षेत्र नं. १ मा तयारी गरिरहेका बमलाई अन्तिम समयमा ४ मा पठाइनुले पार्टीको आन्तरिक रणनीतिमा कमजोरी रहेको देखिन्छ। संगठनको जग कमजोर रहेको र ‘हल्ला’ को भरमा मात्र भोट आउने पुराना दिनहरू हराउँदै गएको अवस्थामा बमलाई घरदैलो अभियानमा मतदातालाई कन्भिन्स गर्न हम्मेहम्मे परिरहेको छ ।
मतदाताको प्रश्न: “काम गर्ने कि कुरा मात्र?”
चुनिखेल, बूढानीलकण्ठ र कपन क्षेत्रका मतदाताहरू अब केवल फेसबुक र युट्युबको चर्चामा मात्र सीमित हुन चाहँदैनन् । स्थानीय विकास, सडक र खानेपानीको समस्या समाधान गर्ने नेताको खोजीमा रहेका मतदाताहरू पुकार बमको ‘सेलिब्रेटी’ छविलाई भन्दा सचिन तिमिल्सिना जस्ता स्थानीय र पहुँचयोग्य उम्मेदवारलाई बढी विश्वास गर्ने मुडमा देखिएका छन् । पराजित हुँदै र क्षेत्र फेर्दै आएका बमका लागि काठमाडौं ४ ‘सेफ ल्यान्डिङ’ हुने हो या अर्को एउटा राजनीतिक असफलता, त्यो त चुनावी परिणामले नै बताउनेछ। तर, हालको अवस्था हेर्दा उनी निकै ठूलो दबाब र सकसमा रहेको प्रष्ट देखिन्छ ।

