काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र अव्यवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै ‘डिजिटल गभर्नेन्स’मार्फत सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा थापाले सामान्य सरकारी सेवा लिन समेत नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै हालको प्रशासनिक संयन्त्रको आलोचना गरेका छन्।
“कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ। आम नागरिकलाई कतिपय सरकारी सेवा लिनु नै हैरानीको विषय बनेको छ,” उनले भने।
थापाले अबको प्रशासनिक संरचना चुस्त, पारदर्शी र नतिजामुखी हुनुपर्नेमा जोड दिए। ‘न्यूनतम सरकारी निकाय, अधिकतम सुशासन’को सिद्धान्त अनुसार अघि बढ्नुपर्ने बताउँदै उनले प्रविधिमैत्री प्रशासन नै समाधानको प्रमुख आधार भएको धारणा राखे।
परम्परागत कागज र फाइलमा आधारित कार्यशैलीले सेवा प्रवाहमा ढिलाइ र झन्झट बढाएको उल्लेख गर्दै थापाले डिजिटल प्रणालीमार्फत सेवा प्रवाहको ढाँचा परिवर्तन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरे।
“डिजिटल गभर्नेन्समार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर नागरिकले भोगिरहेको हैरानी हटाउने हाम्रो स्पष्ट प्रतिबद्धता हो,” उनले भने।
सरकारी सेवामा लाइन बस्नुपर्ने बाध्यता र फाइल अल्झाउने प्रवृत्तिको अन्त्यका लागि प्रविधि–आधारित प्रशासन अपरिहार्य रहेको थापाको भनाइ छ।

