सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने बताएका छन् ।
सिराहा निर्वाचन क्षेत्र नम्बर ३ ले गोलबजारमा मंगलबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले निर्वाचनपछि सरकार गठन र कार्यान्वयनको स्पष्ट समयरेखा सार्वजनिक गरे । उनका अनुसार फागुन २१ मा निर्वाचन, चैतमा सरकार गठन र वैशाख १ गते प्रधानमन्त्रीले प्रतिज्ञापत्र सार्वजनिक गर्नेछन्।
‘भाषण होइन, काम गरेर देखाइन्छ,’ थापाले भने, ‘वैशाख महिनाभर तयार गरिएका योजनाको जेठ १ गते मूल्याङ्कन हुनेछ ।’ सभापति थापाले प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा हुने प्रणाली लागू गरिने जानकारी दिए। यस प्रक्रियामा नागरिकलाई पनि प्रत्यक्ष रूपमा सहभागी गराइने उनको भनाइ छ ।
उनले नतिजामुखी, जवाफदेही र समयमै मूल्याङ्कन हुने सरकार सम्भव रहेको दाबी गर्दै त्यसका लागि उत्साह, अनुभव, जोश र सम्हाल्ने क्षमता आवश्यक रहेको बताए । ‘केवल उखान–टुक्का र भत्काउने राजनीति गरेर हुँदैन,’ थापाले भने, ‘सबैलाई मिलाएर अघि बढाउने क्षमता चाहिन्छ, जुन क्षमता नेपाली कांग्रेस र मसँग छ ।’
सभापति थापाले कांग्रेस उम्मेदवारले जिल्लास्तरमा गरेका प्रतिबद्धता पूरा हुने जिम्मेवारी आफूले लिने स्पष्ट पारे। त्यसका लागि जनतालाई पहिले जिताएर पठाउन आग्रह गरे । कार्यक्रममा उनले कांग्रेस देशभरिका आमाको अनुहारमा मुस्कान, युवामा भरोसा र नागरिकमा “नेपाली हुँ” भन्ने गर्व जगाउने सपना बोकेर अघि बढेको बताए ।
युवाकै भविष्यका लागि आफूले जोखिम मोलेर पार्टीको सभापति पद सम्हालेको उनको भनाइ थियो।

