काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले जनतासँग गरेको प्रतिबद्धता पूरा गरेर देखाएको दाबी गरेका छन्। पार्टी अब बदलिएर आएको भन्दै उनले त्यसको साक्षी जनता स्वयं भएको बताए।
मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत झुम्कामा आयोजित नेताकार्यकर्ता भेटघाटमा बोल्दै सभापति थापाले कांग्रेसप्रति जनताले देखाएको विश्वास र मायाप्रति आभार व्यक्त गरे।
कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने प्रश्नको जवाफ जनतासामु पुर्याउन नेताकार्यकर्तालाई आग्रह गर्दै उनले भने, ‘मैले तपाईंहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ।’
निर्वाचन आचारसंहिताका कारण धेरै कुरा खुलाएर भन्न नमिल्ने अवस्था रहेको उल्लेख गर्दै सभापति थापाले बदलिएर आएको कांग्रेसले भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि ठोस आधारसहित काम गर्ने प्रतिबद्धता दोहोर्याए।

