रामेछापको तामाकोशी क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। मन्थली अस्पतालका अनुसार मृतकमध्ये ११ जनाको पहिचान खुलेको छ भने एक जनाको सनाखत हुन बाँकी रहेको छ।
अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बबी तामाङ, दीपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल, शिव श्रेष्ठ, रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन्।
‘१२ वटा शव अस्पताल ल्याइएको छ, जसमध्ये एक जनाको नाम खुलेको छैन,’ अस्पतालले जनाएको छ।
रामेछापका डीएसपी भोला भट्टका अनुसार मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खस्दा दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

