काठमाडौँ । स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिदमा अनियमितता भएको आरोपमा तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासहित १४ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रारम्भिक सुनुवाइपछि उक्त आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते लागत अनुमानदेखि भुक्तानीसम्म मिलेमतो गरी करिब १४ करोड रुपैयाँभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा मुद्दा दायर गरेको थियो। अभियोगअनुसार अस्वाभाविक रूपमा बढी लागत अनुमान तयार गरी ठेक्का प्रक्रिया अघि बढाइएको र उत्पादक कम्पनीलाई भुक्तानी हुने वास्तविक मूल्य करिब ६ करोड ८५ लाख रुपैयाँ मात्र रहेको उल्लेख छ।

