काठमाडौँ । नेपाली कांग्रेसको बहुप्रतीक्षित ‘मधेश सभा’ आगामी फागुन ६ गते जनकपुरधाममा हुने भएको छ। यसअघि फागुन ७ गते तय गरिएको सभा प्राविधिक कारणले एक दिन अगाडि सारिएको हो।
शनिबार बसेको मधेश प्रदेश कार्यसम्पादन समितिको बैठकले जनकपुरधामस्थित तिरहुतिया गाछीमा भव्य रूपमा सभा आयोजना गर्ने निर्णय गरेको हो। बैठकले सभाको तयारीलाई तीव्र बनाउँदै प्रचार–प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई र मञ्च व्यवस्थापनको कमान्ड योगेन्द्र पञ्जियारलाई तोकेको छ।
सभाको तयारी, सुरक्षा व्यवस्थापन र संगठनात्मक परिचालनबारे बैठकमा व्यापक छलफल भएको बताइएको छ। कांग्रेसले मधेश प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रबाट उल्लेख्य संख्यामा कार्यकर्ता तथा शुभेच्छुकहरूलाई जनकपुर उतार्ने लक्ष्य लिएको छ।
यस सभालाई कांग्रेसले मधेशमा आफ्नो संगठनात्मक शक्ति प्रदर्शनका रूपमा लिएको छ। त्यसका लागि प्रदेशका सबै जिल्ला र क्षेत्रीय समितिहरूलाई तयारीमा जुट्न निर्देशन दिइसकिएको छ।
ऐतिहासिक मानिएको यस मधेश सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ। साथै, केन्द्रका अन्य पदाधिकारी र प्रभावशाली नेताहरूको पनि उपस्थिति रहने प्रचार–प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिएका छन्।
सभामा मधेशका समसामयिक मुद्दा, पार्टीको आगामी राजनीतिक रणनीति र संगठन विस्तारबारे विशेष चर्चा हुने अपेक्षा गरिएको छ। कांग्रेसले यस सभामार्फत मधेशमा आफ्नो राजनीतिक पकड थप मजबुत बनाउने रणनीति अघि सारेको छ।

