

काठमाडौं । कपनमा रहेको बक्स कल्भर्ट योजनालाई निरन्तरता दिन सो क्षेत्रका काँग्रेस प्रतिनिधिहरूले माग गरेका छन् । मंगलबार सहरी विकास मन्त्रालयमा डेलिगेसन गएका कपन क्षेत्रका काँग्रेस प्रतिनिधिहरूले यस्तो माग गरेका हुन् ।
मंगलबार बागमती प्रदेश लेखा समितिका पूर्व सभापति समेत रहेका काँग्रेस नेता न्हुँच्छेनारायण श्रेष्ठको नेतृत्वको टोलीले शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटेर सो माग गरेको डेलिगेसनमा सहभागी नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४(ख) का सभापति रामप्रसाद लुइँटेलले जानकारी दिए ।
प्रतिनिधिमण्डलले निर्माणाधीन बक्स कल्भर्टले सो क्षेत्रको डुबान धेरै हदसम्म कम गरेको भन्दै यसलाई पूर्णता दिनुपर्ने धारणा राखेका हुन् । मन्त्री र सचिव समेत सहभागी रहेको बैठकमा कपनको बक्स कल्भर्टलाई निरन्तर दिने सहमति भएको सभापति लुइँटेलले जनाए ।
बर्खामा केही वर्षअघिसम्म डुबानका कारण चर्चामा आइरहने कपन खहरेको भेल यतिबेला भने गगन थापाको परिकल्पनामा बक्स कल्भर्ट बनाउन थालेपछि अहिले डुबान कम हुन थालेको छ । यसलाई पूर्णता दिनका लागि काँग्रेसको प्रतिनिधिमण्डल आगामी आर्थिक वर्षमा पनि बक्स कल्भर्टको योजनालाई निरन्तरता दिन आग्रह गरेका हुन् ।