

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिबाट काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको नाम हटाउन निर्देशन दिएका छन् । पटकपटक बोलाइएको बैठकमा पनि उनी अनुपस्थित भएपछि उनको नाम नै सोसूचीबाट हटाउन निर्देशन दिएको उनी निकट स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्रीको नेतृत्वमा हुने गणतन्त्र दिवस मूल समारोह समितिमा विभिन्न उच्च पदस्थ व्यक्तिहरूको साथमा काठमाडौँ महानगरपालिकाको मेयर पनि पदेन सदस्य रहने व्यवस्था रहेको छ। तर प्राय बैठकहरूमा उपस्थित नहुने मेयर बालेन शाह अहिलेसम्म सो समितिको बैठकमा उपस्थित भएका छैनन् ।
उनी पुराना र भ्रष्ट दलका नेताहरू उपस्थित रहेको कार्यक्रममा आफू उपस्थित नहुने स्पष्ट बताउँदै आएका छन्। उनले सामाजिक सञ्जालमा नै प्रधानमन्त्री केपी ओलीसहित विभिन्न दलका शीर्ष नेताहरू प्रतिलक्षित गर्दै भ्रष्टाचार र कुशासनको मतियार बनेको आरोप लगाउँदै आएका छन्।
गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मात्रै नभएर मेयर फोरम लगायत अन्य समितिहरूको बैठकमा समेत अनुपस्थित रहने गरेका छन् । तर मेयर बालेनप्रति सुरुदेखि नै अनुदार बन्दै ओलीले अहिले भने बालेनको नाम सोसूचीबाट नै हटाउन निर्देशन दिएका हुन्।