

काठमाडौ । कांग्रेसको भागमा परेको गभर्नर नियुक्तिमा करिब दुई महिनादेखि अल्झ्याउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि यो प्रक्रिया लम्ब्याउन लागेपछि सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रुष्ट बनेका छन्। नियमित प्रक्रिया अनुसार सोमबार मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्त हुने धेरैले आकलन गरेका थिए। प्रधानमन्त्री ओलीले पनि आफ्नो दैनिक कार्यतालिकामा सोमबार साँझ मन्त्रिपरिषद् बैठक गर्ने उल्लेख गरेका थिए।
तर अचानक मन्त्रिपरिषद स्थगित गरेर देउवालाई गवर्नर नियुक्तिको विषयमा छलफल गर्न भन्दै बालुवाटार बोलाएपछि कांग्रेस नेताहरु रुष्ट बनेका हुन् । उनी यो विषयलाई अझ थप गिजोलेर गभर्नरमा आफू निकटस्थ व्यक्तिलाई नियुक्त गर्न हदैसम्मको प्रयास गरिरहेका छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको पक्षमा माहोल बिग्रिँदा त्यति रुष्ट नभएका देउवा डाक्टर विश्व पौडेलको नाममा पनि असन्तुष्टि आउन थालेपछि भन्ने ओलीप्रति ससंकित बन्न थालेका हुन् । उनले सोमबार साँझ नै अब गभर्नर नियुक्तिको विषयमा थप छलफल नहुने स्पष्ट जवाफ ओलीलाई दिइसकेका छन्। जसले सत्ता गठबन्धनमा थप आशंका उब्जिएको छ।