

काठमाडौँ । देशभरका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा धेरै बेरूजु भएको पालिका बनेको छ । बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनमा सबैमध्ये सबैभन्दा धेरै बेरूजु काठमाडौं महानगरपालिकामा देखिएको हो ।
महालेखाको प्रतिवेदन अनुसार रकमका आधारमा काठमाडौँ महानगरपालिका भए पनि प्रतिशतको हिसाबले भने पोखरा महानगरपालिकाको धेरै देखिएको छ । प्रतिशतको हिसाबमा मोरङको विराटनगर महानगरपालिका सबैभन्दा कम र पोखराको सबैभन्दा धेरै देखिएको हो ।
आर्थिक वर्ष २०७९/०८० मा महालेखाले काठमाडौँको ६६ करोड १९ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा २०८०/०८१ मा काठमाडौँ महानगरको बेरुजु घटेको देखिएको छ । काठमाडौं महानगरको २७ अर्ब ५२ करोड ४४ लाख रूपैयाँको लेखा परीक्षण गर्दा ६८ करोड २ लाख बेरुजु देखिएको छ ।
त्यस्तै पोखरा महानगरको १३ अर्ब ४६ करोड ७२ लाख लेखा परीक्षण गरिएकोमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ । जसको प्रतिशतको हिसाबमा ३.७४ प्रतिशत रहेको छ । पोखरामा धनराज आचार्य मेयर रहेको छन् । आर्थिक वर्ष २०७९/०८० मा महालेखाले ७० करोड ६५ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा थोरै बेरुजु कम भएको देखिएको छ ।
पर्सा वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख लेखा परीक्षण गर्दा ३.६२ प्रतिशत अर्थात् २२ करोड ७५ लाख बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा महालेखाले ६७ करोड ७८ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा थोरै बेरुजु कम भएको देखिएको छ । यस्तै, चितवन भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँको लेखा परीक्षण गर्दा १० करोड २ लाख अर्थात् ०.९० प्रतिशत बेरुजु देखिएको छ ।