

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द्री केसी नेतृत्वको गैरआवासीय नेपाली सङ्घलाई आधिकारिकता दिएका छन् । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’मा सहभागी भएका प्रधानमन्त्री ओलीले यसअघि परराष्ट्रमन्त्री आरजु राणाको उपस्थितिमा गठन भएको महेश श्रेष्ठ नेतृत्वको टोली आधिकारिक नभएको बताए । उनले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखापर्नु उचित नहुने भनाइसहित सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गर्नुभयो ।
एनआरएन महाधिवेशनमा यसअघि भएको अर्मादित र अभद्र गतिविधिबाट समाजमा राम्रो सन्देश नगएको उल्लेख गर्दै उनले विधि प्रक्रियासहित लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गरी अघि बढ्न गैरआवासीय नेपाली समुदायसँग अनुरोध गरे । उनले एनआरएनको वर्तमान अध्यक्ष डा बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतान्त्रिक र विधिसम्मत ढङ्गबाट महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे । आजको कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा भने उपस्थित थिइनन् ।
“आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने यस किसिमको साझा संस्थामा विवाद हुनु राम्रो होइन । व्यक्तिका लागि विधान फेर्ने ढङ्गले संस्था चल्न सक्दैन । यसमा विवेक र तर्कले काम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रुपमा यो विकास नहोस्”, प्रधानमन्त्री ओलीले भने, “नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट तपाईंहरु विचलित हुनहुँदैन । यसमा दलीय राजनीति गर्नुहुँदैन र यसमा विभाजनको प्रयास सफल हुँदैन । विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ ।”