

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । उहाँले भन्नुभयो, “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ।” अहिले घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ ।
काठमाडौँ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो ।