

काठमाडौं । काठमाडौँ महानगरपालिकाले केन्द्रीय कार्यालयमा फोहर पानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ जडान गरेको छ । केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक पाँच हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट जडान गरिएको महानगरले जनाएको छ ।
बिजुलीबाट चल्ने यो प्रणालीमा ‘एरोबिक’ र ‘एनएरोबिक’ दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ । यसको लागत करिब रू २० लाख रहेको महानगरको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिए । उनका अनुसार यो नमुना योजना हो । यसको नतिजा हेरेर आवश्यकताको आधारमा अन्य स्थानमा पनि प्लान्ट जडान गर्ने तयारी रहेको छ ।
“काठमाडौंको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन पनि उत्तिकै आवश्यक छ । सानातिना एकाइमा यसको प्रयोगलाई परीक्षण गर्ने हाम्रो योजना छ”, विभाग प्रमुख राई भन्छिन्, “हाल कार्यालयबाटै परीक्षण सुरु गरेका छौँ । यहाँ तीन दशमलव ६० मिटर लम्बाइ, एक दशमलव २० मिटर चौडाइ र एक दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र चार वटा च्याम्बर रहेका छन् ।”
वरिष्ठ इञ्जिनियर निशा कोइराला पनि प्रणालीको प्राविधिक पक्ष र यसको प्रयोगबारे परीक्षणका लागि सुरुआत गरिएको बताउँछन् । त्यस प्राविधिक पक्षबारे उनी भन्छन्, “शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले तरल र ठोस छुट्टाइने काम गरिन्छ ।
त्यसपछि एनएरोविक विधि (अक्सिजन दिनु नपर्ने विधि) बाट प्रशोधनको कार्य सुरू हुन्छ । तेस्रो चरणमा भने एरोविक (अक्सिजन दिनुपर्ने विधि) बाट, चौथो चरणमा फिल्टर र किटाणु नष्ट गर्ने कार्य गरिन्छ । यस विधिबाट तयार भएको पानी दुर्गन्धरहित हुन्छ । बोटबिरूवामा सहजै प्रयोग गर्न सकिन्छ ।”
विभागका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार महानगरको केन्द्रीय कार्यलय प्लाजा परिसरमा ७२ वटा शौचालय छन् । हाल ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रूपमा प्रशोधन गरिएको छ ।
यसबाट प्राप्त हुने नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइने उनले जानकारी दिए । प्लाजामा दैनिक करिब नौ हजार लिटर पानीको प्रयोग हुने गरेको उनले बताए ।