

काठमाडौं । नेपालका सामाजिक अभियन्ता एवं युवा नेतृत्वकर्ता राजन श्रेष्ठले बेलायतमा रहेको युनिभर्सिटी अफ क्याम्ब्रिजमा हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् । आगामी अगस्ट २६ देखि ३० सम्म सञ्चालन हुने सो कार्यक्रममा आंशिक छात्रवृत्तिसहित श्रेष्ठको सहभागिता रहने भएको हो ।
लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले यो अन्तर्राष्ट्रिय उपलब्धिले नेपाली शिक्षा तथा युवा नेतृत्व क्षेत्रमा महत्वपूर्ण योगदान पुुग्ने विश्वास व्यक्त गरेका छन् । उनले विश्वका विभिन्न देशका व्यावसायिक विशेषज्ञ, उद्यमी तथा नेतृत्वकर्ताहरूसँग अन्तर्क्रिया गर्ने अवसर पाउनु नेपालकै लागि उल्लेखनीय उपलब्धि मानिएको छ। ग्लोबल बिजनेस सिम्पोजियमद्वारा आयोजना गरिने यो कार्यक्रम नेतृत्व क्षमता अभिवृद्धि, संगठन व्यवस्थापन, रणनीतिक सोच र अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमा केन्द्रित छ। सहभागीहरूले विभिन्न कार्यशाला, प्रशिक्षण तथा नेटवर्किङ सत्रमार्फत ज्ञान र अनुभव साटासाट गर्नेछन् ।
आयोजक संस्थाले पठाएको आधिकारिक सूचनामा श्री श्रेष्ठको “क्षमता, सामाजिक योगदान, नेतृत्व कौशल र दीर्घकालीन लक्ष्यहरू”ले उहाँलाई छनोटमा विशेष स्थान दिलाएको उल्लेख गरिएको छ। प्रतिनिधिका रूपमा उनले सामाजिक सञ्जालमार्फत प्रचार सामग्री तयार गर्नुका साथै कार्यक्रममा सहभागिता पश्चात भिडियो तथा लिखित प्रतिवेदन पेस गर्नुपर्ने बताइएको छ । साथै, उनले प्राप्त ज्ञानलाई आफ्ना परियोजना वा नेतृत्विक क्रियाकलापहरूमा लागू गरी त्यसको प्रभावलाई अभिलेखसहित प्रस्तुत गर्नुपर्नेछ।